बालकोट सहमति एमालेमै बस्न चाहनेहरुका लागि ‘फेस सेभिङ’ मात्रै हो : माधव नेपाल समूह


७ भाद्र २०७८, सोमबार
Rajendra Rai 1
फाइल फोटो

काठमाडौं, ७ भदौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले अब नेकपा एमालेमा फर्किने सम्भावना सकिएको बताएका छन् ।

लामो समय नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा सहभागी नभएका भीम रावल, घनश्याम भुसाललगायतले सोमबार भएको छलफलमा अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सैद्धान्तिक रुपमा सहमत भएको खबर बाहिरिएसँगै नेपाल पक्षका नेताहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भोलि मंगलबार विहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकले पार्टी संरचनालाई २ जेठ २०७५ मा फर्काउने कार्यतालिका बनाउने छ । भेटमा सहभागी नेताहरुका अनुसार स्थायी कमिटी बैठकले नयाँ पार्टी दर्ता प्रक्रिया रोक्न र एकतामा आउन नेताहरुलाई आह्वान गर्ने सहमति पनि गरेको छ ।

तर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा रहेका नेताहरुले भने यसको अब अर्थ नभएको बताएका छन् । नेपाल समूहका नेता राजेन्द्र राईले भने, ‘बालकोट वार्तामा हाम्रा प्रतिनिधि छैनन् । हाम्रो प्रतिनिधि नभएपछि वार्ताको के मतलब ?’

यो माधव नेपाल समूहमा रहेका, तर हाल नयाँ पार्टीमा नआएका नेताहरुको ‘फेससेभिङ’ का लागि मात्र भएको उनले बताएका छन् । ‘केही साथीहरु जसरी पनि जान चाहनु हुन्थ्यो, केहीलाई फेससेभिङ चाहिएको थियो, सहमति त्यो भन्दा केही होइन ।’

उनका अनुसार २ जेठमा फर्किनुपर्ने आफूहरुको शुरुको माग हो । तर अहिले वैचारिक मत भिन्नता धेरै भएको भन्दै केन्द्रीय सदस्य राईले थपे, ‘पार्टी एकताका लागि वातावरण चाहिन्छ, मिलेर काम गर्ने विश्वास हुनुपर्छ । सांगठनिक विषय र राजनीतिक वैचारिक मुद्दा मिल्नुपर्छ । तर अहिले यो कुनै पनि अवस्था छैन ।’ ओलीले आफ्नो कमजोरी स्वीकार गर्नेभन्दा पनि टालटुल पारेर पार्टीमा हुल्ने र मौका पाएको बेला किनारा लगाउने दाउ मात्र खेलेको नेता राईले आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७