ओलीसँग सहमति जुटे पछि अन्ततः ‘५७ भाइ’ एमालेमै


८ भाद्र २०७८, मंगलवार
kp oli

काठमाडौं, ८ भदौं । झण्डै डेढ महिनाअघि भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू अन्ततः एमालेमै रहने भएका छन् ।

५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्धको लडाइँमा नेपाललाई साथ दिँदै आएका नेपाल निकट नेताहरूले आठ महिनापछि उनको साथ छोडेका हुन् । योबीचमा एमाले वरिष्ठ नेता नेपालले भने नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

निर्वाचन आयोगले नयाँ दल दर्तालाई मान्यता दिने दिन नजिकिँदै जाँदा उनीहरूले नेपालको साथ छोडेका हुन् । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका ती नेताहरू र अध्यक्ष ओलीबीच सोमबार भएको बैठकमा सहमति जुटेपछि उनीहरू एमालेमै रहने निष्कर्षमा पुगेका हुन् ।

तेस्रो धारका रूपमा चिनिएका ‘५७ भाइ’ ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमेटम दिएको भए पनि सोमबार नै अध्यक्ष ओलीसँग सहमति जुटेको हो । अध्यक्ष ओलीले मंगलबारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए आफू अनुकूल निर्णय गर्न स्वतन्त्र रहेको उनीहरूले बताउँदै आएका थिए । एमाले सचिव योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७