राहदानी संग्राहलय स्थापना


८ भाद्र २०७८, मंगलवार
passport
सांकेतिक तस्वीर

काठमाडौं, ८ भदौं । नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पुर्‍याउन राहदानी सङ्ग्रहालय स्थापना गरेको हो ।

विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार नेपालमा राहदानी प्रयोगको इतिहास अभिलेखीकरण गर्न सङ्ग्रहालयले सघाउनेछ । विभागले नेपाली नागरिकको विदेश आवागमनका लागि कानुनी राहदानी जारी गर्नुका साथै त्यस्ता कागजपत्र व्यवस्थित गर्ने काम गर्छ ।
राहदानीको इतिहास कायम रहोस् भन्ने मनसायका साथ राहदानी सङ्ग्रहालय खुलाइएको विभागका निर्देशक तथा प्रवक्ता राजेन्द्र पाण्डेले बताए ।

हालसम्म निकै पुराना दुईवटासहित ६० वटा राहदानी सङ्कलन भइसकेको छ । राहदानी सङ्ग्रहालयलाई भौतिक सामग्रीसहित अवलोकन गर्नेभन्दा पनि डिजिटल रूपमै विश्वका जुनसुकै कुनाबाट हेर्न मिल्ने बनाउने अभियान विभागले थालेको उनले बताए ।

सङ्ग्रहालयमा आइपुगेका दुई पुराना राहदानीमध्ये एक राहदानी इन्दुशमशेर थापाको नाममा सन् १९५९ नोभेम्बर १९ मा जारी भएको राहदानी छ । उनका छोरा गौरवशमशेर थापाले केही दिनअघि मात्रै विभागलाई सङ्ग्रहालयमा सुरक्षित राख्न राहदानी हस्तान्तरण गरेका थिए । प्राचीन नेपाली शैलीमा निर्माण गरिएको सो राहदानीको भित्री पाना तथा भिसाको मिति तोक्ने पानाहरूको उल्लिखित विवरणले नेपालको पुरानो कालखण्डको भाषा झल्काउने गर्छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७