ठाकुरले प्रधानमन्त्री देउवालाई साथ दिने


८ भाद्र २०७८, मंगलवार
deuwa mahantha

काठमाडौं, ८ भदौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोसपाका नेताहरू सरकारमा जान पनि इच्छुक देखिएका छन् । यद्यपि सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारेमा ठोस छलफल नभएको लोसपाका नेताहरूले जनाएका छन्। टीकापुर घटना भएको संस्मरणमा आफूहरूले प्रधानमन्त्रीलाई भेटेको भेटमा सहभागी शरत्सिंह भण्डारीले भने । ‘आजकै दिनमा टीकापुर घटना भएको थियो । सो घटनाको आरोपमा अहिले पनि रेशम जेलमा छन्,’ भण्डारीले भने, ‘सबैले रेशम चौधरी निर्दोष छन् भन्ने तर रिहाइ गर्दैनन् ।

यसैबारेमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेटेका हौं ।’ चौधरीको रिहाइको विषयमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको भेटमा सहभागी अर्का नेता उमाशंकर अरगरैयाले भने । ‘यो विषय अहिले अदालतको प्रक्रियामा छ। अदालतको निर्णय हेराैं। त्यसपछि के पर्छ वा मन्त्रिपरिषद्बाट माफी दिने हो कि यसबारेमा छलफल गरौंला भनी प्रधानमन्त्री ज्यूले भन्नु भयो,’ अरगरैयाले भने ।

भेटमा लोसपाले उठाएका माग मुद्दाबारेमा पनि छलफल भएको सहभागी नेताहरूले जनाएका छन्। जवाफमा प्रधानमन्त्रीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको लोसपाका नेताहरूले जनाएका छन् । अरगरैयाले भने, ‘प्रधानमन्त्री ज्यूलाई हाम्रो अध्यक्ष ज्यूले तपाईं हाम्रा माग मुद्दा सम्बोधन गर्नुहोस् । तपाईंलाई हाम्रो तर्फबाट साथ सहयोग हुन्छ भनी प्रष्टसँग भन्नुभएको छ ।’ प्रधानमन्त्रीलाई भेट्न सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि बालुवाटार पुगेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७