वार्ता र सहमति पार्टी दर्ता रोक्ने ओलीको चालबाजी हो, भ्रममा नपरौं : माधव नेपाल


८ भाद्र २०७८, मंगलवार
madhav nepal

काठमाडौं, ८ भदौं । नेता माधवकुमार नेपालले नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढेकाले वार्ता र सहमतिको सम्भावना सकिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमति हुन नसक्ने बताएका हुन् । उनले यसअघि पटक–पटक बेइमानी भएको भन्दै अब हल्ला र भ्रमको पछाडि नलाग्न नेता र कार्यकर्तालाई आग्रह गरेका छन् । नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

पटक–पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएको उनको भनाइ छ । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामा छ । ओलीको वार्ता र सहमतिको कुरा पार्टी दर्ता रोक्ने चालबाजी मात्र भएको नेता नेपालले आरोप लगाएका छन् ।

निर्वाचन आयोगले सनाखतका लागि भोलि (बुधबार) का लागि बोलाएको छ । यसअघि हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले विवाद समाधान गर्न गठित कार्यदलका नेताहरुबीच १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो । एमालेका अध्यक्ष ओलीले आज स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे ललितपुरमा रहेको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्दैछ ।

‘नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,’ नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका बेला नेपालले उक्त धारणा सार्वजनिक गरेका हुन् । कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुशी प्रदान गर्ने लक्ष्य सहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ । नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढ्नुलाई उनले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७