कोभिड–१९ विरुद्धको फाइजर खोपलाई पूर्ण स्वीकृति


८ भाद्र २०७८, मंगलवार
pfizer vaccine Cu9k9mahO6

काठमाडौं, ८ भदौं । अमेरिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपलाई पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले मान्यता दिएको हो ।

दुई डोज लगाउनुपर्ने फाइजर खोपलाई एफडीएले गएको डिसेम्बरमा आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । यो खोप १६ वर्षभन्दा माथिकालाई लगाउन सकिने छ । अमेरिकी जनस्वास्थ्य अधिकारीहरूले फाइजर खोप प्रभावकारी रहेको र यस कार्यले कोरोनाविरुद्धको खोपसम्बन्धी रहेका आशंकाहरू चिर्न मद्दत पुग्ने अपेक्षा गरेका छन् । विशेषगरी रूढिवादी अमेरिकीहरूले कोभिड–१९ विरुद्धको खोपलाई लिएर आशंका गर्ने गरेका छन् ।

दशौं लाख अमेरिकीहरूले पूर्ण स्वीकृति नभएसम्म खोप नलगाउने बताउँदै आएका थिए । अब उनीहरूलाई पनि खोप अभियानमा सहभागी गराउन सकिने अमेरिकी अधिकारीहरूले अपेक्षा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले एफडीएको स्वीकृति ‘महामारीविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण क्षण’ भएको भन्दै सबैले खोप लगाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति बाइडनले भनेका छन्, ‘यदि, तपाईं एफडीएले पूर्ण स्वीकृति दिएपछि खोप लगाउने भनेर बस्नुभएका दशौं लाखमध्ये हुनुहुन्छ भने यो अहिले पूरा भएको छ । यो तपाईंको खोप लगाउने समय हो । आजै लगाउनुहोस् । खेर फाल्ने समय छैन ।’ एजेन्सी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७