पौडेल पक्षका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना बस्दै


८ भाद्र २०७८, मंगलवार
congress

काठमाडौं, ८ भदौं । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरू धर्नामा बस्ने भएका छन् । आज (मंगलबार) देखि केन्द्रीय कार्यालय सानेपामा उनीहरू धर्नामा बस्न लागेका हुन् ।

क्रियाशील सदस्यताको सूची सार्वजनिक नगरेकाले धर्नामा बस्नुपर्ने अवस्था आएको कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले बताए । उनका अनुसार आज बिहान ११ बजेदेखि धर्ना शुरु हुनेछ ।

क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएसम्म धर्नासहित अरू संघर्षका कार्यक्रम गरिने लामाले बताए । ‘आज हामी काठमाडौंमा उपलब्ध भएजति सभापतिहरू गएर धर्ना शुरु गछौं’, उनले भने, ‘क्रियाशीलमा मनपरी भएको छ, कार्यकर्ताले सूची हेर्न नपाएसम्म धर्ना जारी रहन्छ ।’

क्रियाशील विवाद समाधानको नाममा नियमविपरीत क्रियाशील थप्ने र आफ्ना विरोधीहरूलाई हटाउने काम गरिएको भन्दै संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले विरोध गरेका छन् । संगठन समायोजनको नाममा पनि विधान मिचेको उनीहरूको आरोप छ ।

एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा सभापति चयन क्षेत्रीय प्रतिनिधिबाट गर्दा जिल्ला सभापतिहरूको अपमान भएको पनि आरोप लगाइएको छ । ‘हामीले विषय उठाउँदा होइन भनेर नेतृत्वले टार्छ’, लामाले भने, ‘त्यसो होइन भने सार्वजनिक गर्न किन डराएको त ?’ आज हुने धर्नाको नेतृत्व काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँले गर्ने लामाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७