एमाले स्थायी कमिटी बैठक सर्‍यो


८ भाद्र २०७८, मंगलवार
amale

काठमाडौं, ८ भदौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ । बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो । बिहान बस्ने भनिएको बैठक दिउँसो ३ बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक सारिनुको कारण भने खुलाइएको छैन ।

आजको बैठकमा तेस्रो धारका नेताहरू समेत सहभागी हुँदैछन् । नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबार भएको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।

स्थायी समिति बैठकले यसअघि एमाले एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि मोडालिटी तयार गर्नेछ । सोमबार अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएका थिए ।

त्यसपछि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार भएका थिए । दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ । बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७