दिल्लीबाट झलनाथको सम्बोधन–मध्यपन्थ अवसरवादको एउटा रुप, आयु लामो हुँदैन

‘ओली पीडित एमालेमा अल्झेर नबसौं’


८ भाद्र २०७८, मंगलवार
jhalanath khal

काठमाडौं, ८ भदौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमालेभित्र अल्झिएर नबस्न पुराना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले नेकपा (एकीकृत समाजवादी) को चन्द्रागिरीमा जारी सम्मेलनलाई भारतबाट ‘भर्चुअल’ प्रविधिबाट सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘नेकपा एमालेभित्र एकताको भ्रममा अल्झेर नबसौं । क्रान्तिकारी केन्द्रको रुपमा समाजवादी पार्टीलाई स्थापित गर्नुपर्छ’, उनले भनेका छन्, ‘केपी ओलीको व्यवहारबाट धेरै जना पीडित भएर बसेका छन् । एमालेभित्र भ्रममा अल्झिएर बसेका साथीहरुलाई सही बाटोमा ल्याउन सकौं ।’

‘हामीसामु ठूलो चुनौती छ तर तर सम्भावना पनि छ । हाम्रो सफलता सुनिश्चित छ । बाटो सजिलो छैन, काँडा र भीरपाखाहरु छन् । हामी भीर पाखामै हुर्केका हौ, त्यसैले हामी सफल हुन्छौं’, नेता खनालको भनाइ छ । उनले आम नेता कार्यकर्ताले केपी ओलीको दमन र दक्षिणपन्थी अवसरवाद नबिर्सेको भन्दै पार्टीको वैचारिक क्रान्तिकारी दिशा महत्वपूर्ण हुने र त्यसैले पार्टीको दिशा तय गर्ने बताएका छन् ।

आफू अस्पतालको शैंयाबाट बोलिरहेको भन्दै उनले नेपालमा रहेका साथीहरूलाई सबभन्दा पहिला पार्टी दर्ता गर्न सुझाव पनि दिए । ‘पहिला पार्टी दर्ता गरौं त्यसपछि पार्टीका नीति सिद्धान्त अपडेट गर्नुपर्छ’, खनालको सुझाव छ । उनले एमाले स्थायी समितिका धेरै साथीहरूलाई मध्यपन्थी दृष्टिकोणले निकै नराम्रोसँग अल्झाएको बताए ।

‘मध्यपन्थ भनेको पनि अवसरवादको एउटा रूप हो । त्यसले अन्तिममा दक्षिण पन्थलाई सघाउँछ’, खनालले मध्यमार्गी नेताहरूप्रति लक्षित गर्दै भने, ‘तर मध्यपन्थको आयु कहिल्यै पनि लामो हुँदैन । यसको आयु छोटो हुन्छ, अल्पायु हुन्छ ।’ उनले ओली नेतृत्वको सरकारले पटक–पटक गरेका गल्ती र अदालतको फैसलालाई पुस्तिकाको रुपमा तयार पारेर वितरण गर्नुपर्ने बताएका छन् । उनी सोमबार उपचारपछि स्वेदश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७