आयोगमा एकीकृत समाजवादीका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत


८ भाद्र २०७८, मंगलवार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, ८ भदौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि २९ सांसद र ५५ जना केन्द्रीय कमिटी सदस्यहरुले सनाखत गरेका छन् ।

नेकपा (एमाले) बाट विभाजित सो दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा एमालेका २९ सांसद तथा ५५ जना केन्द्रीय कमिटी सदस्यले सनाखत गरेका निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगमा पठाइएको ३१ जना सांसदको नामावलीमध्ये २९ जनाको मात्रै सनाखत भएको हो ।

चार सांसदहरू सनाखत गर्न आए पनि अध्यादेशमा ‘एकैपल्ट निवेदन पेश गर्नुपर्नेछ’ भन्ने उल्लेख रहेकाले नमिलेको आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन् । आयोगमा पठाइएको निवेदनमा नेता झलनाथ खनालको पनि नाम छ तर निवेदनमा हस्ताक्षर नभएकोले आयोगले सनाखत गरेको छैन । यस्तै, केन्द्रीय कमिटीमा पनि ५५ जनाको मात्र सनाखत भएको आयोग स्रोतले जनाएको छ । ५७ जनाको निवेदन परेकोमा ५५ जनाको मात्र सनाखत भएको हो ।

दल विभाजनसम्बन्धी अध्यादेशमा पार्टीको संसदीय दल वा केन्द्रीय कमिटीमध्ये कुनै एकमा २० प्रतिशत पु¥याउनुपर्ने प्रावधान छ । उक्त प्रावधानअनुसार संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा भने पुग्ने भएकोले नेपालले नयाँ पार्टी दर्ताको लागि दिएको निवेदन प्रमाणीकरण हुने र नयाँ दलको मान्यता पाउने देखिन्छ । आयोगमा दिएको निवेदन उपर आज नै कुनै कारवाही अगाडि नबढ्ने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

‘हामीले यसअघि जनता समाजवादी पार्टी जसपाको यस्तै मुद्दा निरुपण गरिसकेका छौं, एमालेको हकमा पनि त्यही लागू हुन्छ, थपलियाले भने, माधवकुमार नेपाल पक्षले पेश गरेको नयाँ दलको विषयमा त्यही निर्णय हुन्छ ।’ एमालेबाट विभाजित भएर माधव कुमार नेपाल नेतृत्वमा नेकपा (समाजवादी) भोलि (बुधबार) आयोगमा विधिवत दर्ता हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७