एमालेमा रहेका पूर्व माओवादीको खोसियो जिम्मेवारी


९ भाद्र २०७८, बुधबार
purba mao

काठमाडौं, ९ भदौं । १० बुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ ।

बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका छन्। दसबुँदे सहमति कार्यान्वयनका अन्य मापदण्ड बनाइने भनिए पनि तत्काललाई उनीहरूको केन्द्रीय सदस्य खोसिएको हो ।

बैठकको निर्णयअनुसार एमालेका २०७५ जेठ २ अघिका सबै संरचना पुनर्जीवित भएका छन् । जिल्ला र प्रदेश कमिटीहरू पनि २०७५ जेठ २ कै अवस्थामा फर्किएका छन् । निर्णयअनुसार प्रदेश १ को इन्चार्ज भीम आचार्य, प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल, वाग्मती प्रदेशको इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, लुम्बिनी प्रदेश इन्चार्ज विष्णु पौडेल, कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल कायम भएका छन् ।

नेकपा विभाजन भएपछि एमालेले प्रदेश कमिटीमा जिम्मेवारी हेरफेर एवं कमिटीको आकारसमेत बढाएको थियो । प्रदेश १ मा सुवास नेम्बाङ, २ मा रघुवीर महासेठ, वाग्मतीमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको थियो । जनसंगठनको हकमा पनि २०७५ जेठ २ अघिकै संरचना ब्युँतने छन् ।

माओवादीबाट आएका नेताहरूको जिम्मेवारी व्यवस्थापनका सन्दर्भमा उच्चस्तरीय कार्यदलले खाका तयार गर्ने भएको छ । बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी, जिल्ला कमिटीलगायत सबै तहका कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गतेअघि जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । दसबुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटी तथा पार्टी सदस्यसमक्ष प्रेसित गर्ने निर्णय भएको छ । प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाइएको छ ।

महाधिवेशनका लागि २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी सदस्यता नवीकरण अगाडि बढाउने, पार्टी एकताका क्रममा आबद्ध भएका सदस्यहरूको पनि सदस्यता नवीकरण गर्ने र २०७५ जेठ ३ पछि सदस्य भएकाहरूको पनि नवीकरण गर्ने निर्णय भएको छ । पार्टी विधान महाधिवेशन असोज ४,५ र ६ गते काठमाडौंमा गर्ने र १० औं महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ मा गर्ने निर्णय भएको जानकारी सचिव ज्ञवालीले दिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७