धर्ना बसेका कांग्रेस जिल्ला सभापतिले विवाद समाधान समितिसँग वार्ता गर्दै


९ भाद्र २०७८, बुधबार
congrell jilla savapati

काठमाडौं, ९ भदौं । सत्तारुढ नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफलमा बोलाएको छ ।

अहिले बिहान ९ः३० बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको एक जिल्ला सभापतिले जानकारी दिएका छन् । उनका अनुसार बैठक समिति सदस्य डा. मीनेन्द्र रिजालको निवासमा बस्न लागेको हो । बैठकमा विवाद समाधान समितिका संयोजक कृष्ण सिटौला र सदस्य रमेश लेखकको पनि उपस्थिति रहने आफूहरूलाई जानकारी गराइएको उनले बताए । जिल्ला सभापतिहरूको तर्फबाट मंगलबार धर्नामा बसेका सबैजना बैठकमा जाने उनले बताए ।

‘हामीले विवाद समितिले १० बुँदामा तयार पारेको प्रतिवेदन पनि तपाईंहरू (मिडिया) मार्फत पढ्न पायौं’, उनले भने, ‘हाम्रो माग अन्तिम सूची सार्वजनिक गर्नुपर्छ, कार्यकर्तालाई सूचीमा आफ्नो नाम छ / छैन भन्ने थाहा हुुनुपर्छ भन्ने हो ।’ कांग्रेस सुर्खेत सभापति कमलराज रेग्मीले क्रियाशीलेको अन्तिम सूची सार्वजनिक नभएसम्म धर्ना जारी रहने बताए ।

संस्थापन इतर समूहका जिल्ला सभापतिहरू तीनबुँदे माग राखेर मंगलबार (हिजो) देखि आन्दोलनमा होमिएका हुन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने, वडा तहबाट भएको निर्णयविपरीत माथिल्लो तहबाट थप गरिएको फर्जी क्रियाशील खारेज हुनुपर्ने उनीहरूको माग छ । यस्तै, जिल्ला सभापति हुन तय भएको दुई थरी मापदण्डलाई खारेज गरेर एकद्वार प्रणाली तय गर्नुपर्ने माग पनि उनीहरूको छ ।

सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले सदस्यता सूची सार्वजनिक नगरिए यही भदौ १८ गतेदेखि गर्ने भनिएको वडा अधिवेशन रोक्ने चेतावनी दिए । ‘हिजोको धर्नाले ‘प्रेसर’ बढाएको छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७