जयसिंह धामी वेपत्ता प्रकरण : छानबिन समितिको म्याद भदौ १५ सम्म थपियो


९ भाद्र २०७८, बुधबार
Jaya shingh dhami drone

काठमाडौं, ९ भदौं । सरकारले दार्चुलाको तुइन घटनाको छानबिन गर्न गठित समितिको म्याद तेस्रो पटक थप गरेको छ । साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ राय सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो ।

गत १७ साउनमा सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन भएको छानबिन समितिलाई गृहमन्त्री बालकृष्ण खाणले थप एक साताको समय दिने निर्णय गरेका हुन् । ‘उहाँहरूले काम नसकिएकाले म्याद थपका लागि निवेदन दिनु भएको थियो,’ गृह मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले भने, ‘समितिलाई एक साताका लागि समय थपिएको छ ।’

समितिलाई सुरुमा १० दिनको समय दिइएकोमा सात–सात दिन गरेर १४ दिनको समय दुईपटक थप भइसकेको छ । यति संवेदनशील विषयको छानबिनमा ढिलाइ भएकोमा आलोचना हुँदै आएको छ ।

समितिका दुई सदस्य पारिवारिक समस्याका कारण बिदामा भएकाले समितिले प्रतिवेदन टुंगो लगाउन नसकेको हो । समितिमा रहेका सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ तथा दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट केही दिनयता बिदामा छिन् ।

समितिमा नेपाल प्रहरीका डिआइजी पुरुषोत्तम कँडेल तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा सदस्य छन् । अबको एक साताभित्र प्रतिवेदन बुझाइने समितिका एक अधिकारीले दाबी गरे ।

गत १५ साउनमा दार्चुला व्याँस गाउँपालिका– २ का जयसिंह धामी भारत जान खाङदाङ मालघाटमा रहेको तुइनबाट महाकाली तरिरहँदा खसेर बेपत्ता भएका थिए । पारितर्फ रहेका सीमा सशस्त्र बल (एसएसबी) ले तुइन काटेको प्रत्यक्षदर्शीले बताएका छन् । सरकारले छानबिन प्रतिवेदनका आधारमा यस विषयमा भारतसँग कुरा गर्ने बताउँदै आएको छ । तर, छानबिनमै ढिलाइ हुँदा भारतसँग यस विषयमा कुरा हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७