धितोपत्र बोर्ड सदस्यबाट चन्द्र ढकालको राजीनामा


९ भाद्र २०७८, बुधबार
Chandra Prasad Dhakal scaled

काठमाडौं, ९ भदौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालकमा आफ्नो ठाउँमा अर्कै प्रतिनिधि पठाउन अध्यक्ष शेखर गोल्छालाई आग्रह गरेका छन् ।

ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेसँगै महासंघले धितोपत्र बोर्डलाई ढकालको ठाउँमा अर्कै प्रतिनिधि पठाउने भन्दै पत्राचार गरेको छ । ढकालको ठाउँमा अर्को प्रतिनिधि कसलाई पठाउने भन्ने निर्णय नभए पनि उनको पद रिक्त भएको पत्र भने बोर्डमा पठाइएको महासंघ स्रोतले जानकारी दियो ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएपछि यसअघि हिजो नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएको थिए । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने लागेको सर्वोत्तम सिमेन्ट सेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, सञ्चालक ढकाल र नेप्सेका सीईओ चन्द्रसिंह साउद विवादमा मुछिएका हुन् ।

बोर्डका अध्यक्ष ढुंगानाको छोरी रेविका ढुंगाना, बोर्ड सञ्चालक ढकालका भाइ हेमराज ढकाल र नेप्सेका सीईओ साउदले श्रीमती सुशीलाकुमारी बोहराको नाममा नेप्सेको ओटीसी बजारमार्फत ०७७ माघ २६ गते सेयर खरिद गरेका थिए । सोही प्रकरणमा नेप्सेका सीईओ साउदले राजीनामा दिइसकेका छन् । धितोपत्र बोर्डको सञ्चालकबाट फिर्ता हुन ढकालले पनि नेपाल उद्योग वाणिज्य मंहासंघका अध्यक्ष शेखर गोल्छालाई पत्र लेखेका हुन् ।

बोर्डको सञ्चालक हुन अगाडि नै सेयर खरिद गरेको विषयमा अनावश्यक विवाद आएको र व्यवसायीको हिसाबले बोर्डको सञ्चालक रहँदा अरू पनि विवाद आउन सक्ने भएकोले सञ्चालकबाट पछि हट्ने निर्णय आफूले लिएको ढकालले बताए । उनले अध्यक्ष गोल्छालाई पत्र बुझाइसकेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७