काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने


१० भाद्र २०७८, बिहीबार
Fohor

काठमाडौं, १० भदौं । काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको हो ।

पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेश कुमार वाग्लेले जानकारी दिए । साँघुरो ठाउँ तर लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहोरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन ।

‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौं महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माणको काम गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले भने । गएको ११ दिनदेखि काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन । गत साउन ३२ देखि नै कामपाले सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो ।
यो सूचना सार्वजनिक भएको पनि एक हप्ताभन्दा बढी भयो तर अझै साविकको जस्तो फोहोर व्यवस्थापन हुन सकेको छैन । यसले गर्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ ।

कामपा वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठले शहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्यान्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताए । उनले भने, ‘निर्माणाधीन बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको काम शुरू नगरिएसम्म समस्या समाधान हुँदैन, सिसडोलमा अब व्यवस्थापन गर्ने ठाउँ छैन ।’ आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७