काबुल विमानस्थलमा आक्रमणको चेतावनी जारी


१० भाद्र २०७८, बिहीबार
afgan 1
फाइल फोटो

काबुल, १० भदौं । अमेरिकालगायत विभिन्न देशले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी हमला हुने खतरा रहेको चेतावनी जारी गरेका छन् । अफगानिस्तानको सत्ता तालिबानले आफ्नो नियन्त्रणमा लिएयता काबुलस्थित हामिद कारजाई विमानस्थलमा दैनिक त्यहाँबाट बाहिरिने मानिसको भीड लागिरहेको छ ।

यसै क्रममा अमेरिका, अस्ट्रेलिया र बेलायतले त्यस विमानस्थलमा आतंकवादी हमलाको खतरा देखिएको भन्दै आफ्ना नागरिकलाई यात्रा नगर्न आग्रह गरेका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा इस्लामिक स्टेट नामको अतिवादी समूहले आक्रमण गर्न सक्ने अभिव्यक्ति दिएको २४ घण्टापछि अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका हुन् ।

अमेरिका, बेलायत, भारत लगायतका देशहरुले आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट उद्धार गरिरहेका छन् । नेपालले पनि मित्र राष्ट्रहरुको सहयोगमा नेपालीहरुलाई उद्धार गर्ने क्रम जारी राखेको छ । परराष्ट्र मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अझै पनि ४२ जना नेपाली उद्धारको पर्खाइमा छन् ।

हाल विमानस्थलको भित्री भाग नियन्त्रणमा लिएका अमेरिका सेनाले आफ्ना नागरिकहरुका साथै अफगानिस्तानका नागरिकहरुलाई पनि उद्धार गर्दै आएको छ । बीबीसीका अनुसार विगत १० दिनको अवधिमा काबुलबाट ८२ हजार मानिसलाई उद्धार गरिसकिएको छ । वितेको २४ घण्टाको अवधिमा अमेरिकी उडानबाट करिब १९ हजार मानिसलाई अफगानिस्तानबाट उद्धार गरिएको छ । अझै पनि हजारौं मानिसहरु काबुल विमानस्थलमा उद्धारको प्रतीक्षामा छन् ।

३१ अगष्ट (भदौ १५ गते) भित्र काबुल छाड्न चाहनेहरु सबैलाई उद्धार गरिसक्ने योजना अमेरिकाको छ । तालिबानले उनीहरुलाई फर्किन ३१ अगष्टसम्मको समयसीमा दिएको छ । तालिबान विरोधी समूहले अफगानिस्तानमा आक्रमण गर्न सक्ने भन्दै तालिबानले काबुल सहरको सुरक्षा गर्न फतेह फोर्स नामको छुट्टै सुरक्षा दस्ता खटाएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७