रायखोरको पहिरोले राहुघाट नदी थुनियो


१० भाद्र २०७८, बिहीबार
khola
सांकेतिक तस्विर

म्याग्दी, १० भदौं । म्याग्दी, रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए ।

‘करिब ५०० मिटर लामो र ५० फिटभन्दा बढी गहिरो तलाउ बनेको छ’, उनले भने, ‘निरन्तर पहिरो खसिरहेको छ ।’ राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँ वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर ‘ओभरफ्लो’ हुन थाले पनि जोखिम कायमै रहेको मगरले बताए ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए । राहुघाटको तटीय क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन छन् ।

बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले चिमखोलामा रहेको सेनाको क्याम्पबाट सुरक्षाकर्मीलाई तलाउ निरीक्षणका लागि पठाइएको र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७