वीरगञ्जमा स्टिल फ्याक्ट्रीको भट्टीमा बिष्फोट : १२ श्रमिक घाइते, सात जना गम्भिर


१० भाद्र २०७८, बिहीबार
sarbottam steel udhyog

वीरगञ्ज, १० भदौं । वीरगञ्जस्थित सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा बिष्फोट हुँदा १२ श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने पाँच जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दास छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत युपी लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दिपक कुमार र भारत दरभंगा बस्ने १८ वर्षीय रविंकु दासको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । घाइते हुनेमा अधिकांश भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

कम्पनीको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएर लाग्दा श्रमिकहरु घाइते भएको उनले बताए । वीरगञ्ज महानगरपालिका–२२ मनियारीमा रहेको उद्योगमा बिहीबार दिउँसो पौने एक बजे विष्फोट भएको उनले बताए । उद्योगमा बिष्फोटपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७