खुल्न थाले अफगानिस्तानका बैंक, पैसा झिक्नेको लामो लाइन

एक प्लेट खानाकै एक सय डलर


१० भाद्र २०७८, बिहीबार
Bank Open Afghan

काठमाडौं, १० भदौं । एक साताभन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैंकहरू खुल्न थालेका छन् । बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।

शुरुमा तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको आशंकामा सबै बैंक बन्द भएका थिए भने अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको ७ अर्ब डलरमा तालिबानलाई पहुँच नदिने निर्णय गरेसँगै बढेको आशंकाका कारण वित्तीय संस्थाहरु बन्द थिए ।

अफगानिस्तानमा दैनिक कामको लागि नगद रकम आवश्यक पर्ने भएकाले मानिसहरूले आफ्नो बैंकमा रहेको पैसाले काम चलाउन पाएका छैनन् । यसअघि तालिबानले मुलुकमा कब्जा जमाएसँगै अफगानिस्तानका एटीएममा ठूलो संख्यामा मानिसको भीड लागेको थियो ।
एक प्लेट खानाकै एक सय डलर
विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तान छोडेर बाहिरिने क्रममा काबुल विमानस्थलमा भेला भएका सर्वसाधारणले निकै महङ्गोमा खाना र पानी किन्नु परेको छ ।

26 afghan

उनीहरुले एक प्लेट खानाका लागि १ सय र एक बोतल पानीका लागि ४० अमेरिकी डलर तिर्नु परेको बीबीसीले जनाएको छ । हजारौंको संख्यामा भेला भएकाहरूले गर्मीको सामना पनि गरिरहनु परेको छ । काबुल विमानस्थलमा अमेरिकी र बेलायती सेनाले पानी र खाना उपलब्ध गराए पनि सयौं मानिसले खान समेत नपाएको स्थिति छ ।

विमानस्थलमा अफगानी मुद्राको साटो अमेरिकी डलरमा कारोबार हुँदा खाना किनेर खान समेत कठिनाइ भएको स्थानीयले जनाएका छन् । खाना र पानी नपाएर कतिपय महिला र बालबालिका बेहोस हुन थालेका छन् । देश छाडेर बाहिर जान चाहने करिव ५० हजार अफगानी काबुल विमानस्थलमा विमानको प्रतीक्षामा छन् ।

विमानस्थल बाहिर पनि हजारौंको संख्यामा मानिसहरू भेला भएका छन्, उनीहरूलाई आ–आफनो घर फर्कन तालिवान समूहले धम्की दिइरहेको बुझिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७