हेलिकप्टर उद्धारको झन्झटिलो प्रक्रिया, प्रक्रिया पूरा गर्दागर्दै सुत्केरीको मृत्यु


११ भाद्र २०७८, शुक्रबार
sutkeri
सांकेतिक तस्वीर

गोरखा, ११ भदौं । उद्धार गर्ने झन्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा सुत्केरीको मृत्यु भएको छ । सडक सञ्जालले नजोडिएको सो गाउँमा हेलिकप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यु भएको स्थानीय फुर्बा याङ्जेन लामाले जानकारी दिइन् ।

चुमनुब्री–६ कोम्बाकी २५ वर्षीया हिसे डोमाको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो । ‘बच्चा त बुधबार राति १२ बजे नै जन्मिएको रहेछ । सालनाल नझरेपछि मृत्यु भएको हो,’ उनले भनिन्, ‘उद्धार गर्न हेलिकप्टर ल्याण्ड गर्नु र मान्छे मरिसक्यो भनेर फोन आउनु एकै चोटी भयो ।’ सो गाउँमा बाक्लो हुस्सुका कारण हेलिकप्टर अर्को गाउँ चुम्लिङमा बसेको थियो ।

सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयले हेलिकप्टर पठाएको थियो । बिहीबार बिहानैदेखि हेलिकप्टरका लागि प्रक्रिया थालिएको थियो । तर, दिउँसो ३ बजेसम्म पनि उपलब्ध हुन सकेन ।

पर्खदा पर्खंदै महिलाको मृत्यु भयो । हेलिकप्टरका लागि स्वास्थ्य चौकीले स्वास्थ्य शाखालाई, स्वास्थ्य शाखाले गाउँपालिकालाई, गाउँपालिकाले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई खबर गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् ।

‘प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला’, उनले भनिन्, ‘सबै निकायबाट जतिसक्दो चाँडो प्रयास त गरेकै हौं ।’ हेलिकप्टरमार्फत उद्धार गरिदिन आफूलाई साढे १२ बजे खबर आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए । गाउँपालिकाबाट प्रशासन कार्यालयमा सवा १ बजे खबर प्राप्त भएको कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए । ‘मैले सबै प्रक्रिया पूरा गरी महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दा २ बजेको थियो’, रोकाले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७