तीन पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली


११ भाद्र २०७८, शुक्रबार
chauri

काभ्रे, ११ भदौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिका हेरफेर गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन दैनिक ५०० भन्दा बढीको संख्यामा आउने भएपछि भीड कम गर्न समय तालिका हेरफेर गर्नुपर्ने अवस्था आएको बताए ।
कोभिड–१९ को सङ्क्रमणदर बढिरहेको अवस्थालाई दृष्टिगत गर्दै आगामी आइतबारदेखि लागू हुनेगरी समय तालिका हेरफेर गरिएको हो ।

त्यसअनुसार अर्को व्यवस्था नभएसम्मका लागि बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाका सेवाग्राहीका लागि मङ्गलबार तथा शुक्रबार र धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका तथा रोशी गाउँपालिकाका सेवाग्राहीका लागि सोमबार र बिहीबार समय तोकिएको छ ।

त्यसबाहेक जिल्लाका कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका र डाँडापारिस्थित विकट महाभारत र खानीखोला तथा तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि भने दैनिकरूपमा नै सेवा प्रवाह हुने जनाइएको छ । यसअघि गत साउन ३१ गतेदेखि कार्यालयले सबै गाउँपालिकाका हकमा दैनिकरूपमा सेवा प्रवाह गर्दै आएको र नगरपालिकाका सेवाग्राहीका लागि मात्रै आलोपालो रूपमा सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७