अविरल वर्षाले नेपालगञ्ज जलमग्न


११ भाद्र २०७८, शुक्रबार
badhi 11 copy zapMkkAbny

नेपालगञ्ज, ११ भदौं । गए रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ । पानी जमेपछि पैदल यात्रीलाई आवतजावतमा समस्या भएको छ ।

निरन्तरको वर्षातले सहरका विभिन्न ठाउँ डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिए । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौं गाउँ डुब्छन् ।

भारतले नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७