बाढीले १५ सय घर डुबानमा : पाँचको मृत्यु, चार बेपत्ता


१२ भाद्र २०७८, शनिबार
dauban 77gizs4uZx 1

काठमाडौं, १२ भदौं । लगातारको वर्षाले आएको बाढीबाट विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ ।

नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बेपत्ता छन् । महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा १५ सयभन्दा बढी घर डुबानमा परेका छन् । विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ ।

लगातारको वर्षाले पश्चिम नवलपरासीको जनजीवन पनि नराम्रोसँग प्रभावित बनेको छ । दुई जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छिन् । बाढीले रामग्राम– १६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदीपको मृत्यु भएको प्रहरीले जनाएको छ । राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घर जाने क्रममा उनीहरूलाई भेलले बगाएको हो । दुवै जनाको शव घर नजिकैको खेतमा भेटिएको थियो । बाढी पसेपछि ज्यान जोगाउन निस्केकी सुनवल– १३ की ओरिसा तामाङ बेपत्ता भएकी छिन् ।

बाढीले सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित देखिएको छ । आठ–दश बाहेक सरदमुकामका सबै घर डुबानमा परेका छन् । परासीमा बिहीबार मध्यरातमै घरघरमा पानी पसेका थियो । स्थानीय हारगुहार गर्दै घरका छत र अग्लो स्थानमा भागेका थिए । शुक्रबार दिउँसो १ बजेसम्म पनि पानीको सतह नघट्दा भोकाएका बालबालिका चिच्याइरहेका थिए । सिंगै बस्ती एउटै पीडामा रहेकाले कसैले कसैलाई सहयोग गर्न सकेका थिएनन् ।

बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डुबान क्षेत्रमा पुगे पनि पानीको सतह र वेगका कारण उद्धारमा कठिनाइ भएको थियो । विगतमा सामान्य डुबान हुने भए पनि सदरमुकाम परासीमा अहिलेसम्मकै ठूलो बाढी पसेको ज्येष्ठ नागरिकहरूले बताए । दिउँसो २ बजेदेखि पानीको सतह घटेपछि उनीहरूले राहत महसुस गरेका छन् । तर, पानी परिरहेकाले पुनः त्यस्तै बाढी आउने हो कि भन्ने त्रास उनीहरूमा देखिएको छ ।

सदरमुकामसँगै पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले बताए । ‘अधिकांश घर डुबानमा परेकाले क्षतिको विवरण यकिन हुन सकेको छैन,’ डिएसपी लामाले भने, ‘मै रहेको बज्रदल गणमा करिब १५ फिट पानी जमेको थियो ।’ जिल्ला प्रहरी कार्यालयमा ६ फिटसम्म पानी जमेको डिएसपी लामाले जानकारी दिए ।

दाउन्ने र गैंडाकोटमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पूर्वी नवलपरासीको गैंडाकोट र दाउन्नेमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले गैंडाकोट– ९ तेइस स्मृति पुल, थुम्सीस्थित डाइभर्सन, गैंडाकोट–१० मा रहेको सशस्त्र बेस क्याम्पनजिकैको डाइभर्सन र गैंडाकोट–११ भेडाबारीमा रहेको डाइभर्सन बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार गैंडाकोटका चार स्थानमा दुवैतर्फी सडक अवरुद्ध भएको छ । त्यसैगरी, विनयी त्रिवेणी गाउँपालिका– २ दाउन्नेमा माथिबाट पहिरो आई पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोले घर पुर्दा तीन बेपत्ता
पूर्वी नवलपरासीको हुप्सेकोट– ४ मा हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएका छन् । ५० वर्षीय हस्तबहादुर पुलामीलाई भने सुरक्षाकर्मीले घाइते अवस्थामा उद्धार गरेका छन् । बेपत्ता हुनेमा हस्तबहादुरकी श्रीमती ४० वर्षीया धनमाया तथा सात र ६ वर्षीया नातिनीहरू भूमिसरा र देउमाया छन्न्।

कावासोतीमा झोलुंगे पुल बग्यो
कावासोती नगरपालिका– १७ गगोरसतीमा रहेको झोलुंगे पुल पत्थर खोलामा आएको बाढीले बगाएको छ । संघीय सरकारको ४२ लाख सहयोगमा दुई वर्षअघि निर्माण गरिएको पुल शुक्रबार बिहान बगेको हो । बाढीले कावासोतीका अधिकांश स्थानमा खानेपानीका पाइप बगाएको छ । खानेपानी वितरणमा तत्कालै समस्या देखिएको छ । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीम कँडेलले वडा नम्बर ५ र ६ मा पूर्ण रूपमा र २, ३, ८ र ९ मा आंशिक रूपमा क्षति पुर्‍याएको जानकारी दिए ।

देवचुलीको मुन्डे–कीर्तिपुर–बन्दीपुर सडकखण्ड पनि अवरुद्ध भएको छ । पहिरोले आधा दर्जनभन्दा बढी स्थानमा बाटो भत्काएको देवचुली– ६ का वडाध्यक्ष मीनबहादुर सोतीमगरले बताए । यस क्षेत्रमा बिजुलीका पोलहरूसमेत ढलेकाले विद्युत् सेवा अवरुद्ध भएको छ ।

महोत्तरी : तटबन्ध भत्किँदा नौ सय घर डुबानमा
बल्वा नगरपालिका– ११ को रौजा र ४ को तिलगढमा तटबन्ध भत्काएर रातु नदीको बाढी बस्तीमा पस्दा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । विस्थापितहरू विभिन्न विद्यालयमा आश्रय लिएर बसेका छन् । बस्तीका नौ सयभन्दा बढी घर डुबानमा परेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बाढीले तीन ठाउँमा गरी करिब एक सय पचास मिटर तटबन्ध भत्काएको छ । स्थानीय लक्ष्मण मण्डलले रौजा मजारलगायतका बस्तीमा पनि पानी पसिरहेको बताए ।

पहिल्यैदेखि जीर्ण अवस्थामा रहेको बाँध भत्काएर बाढी बस्तीमा पसेको स्थानीयले बताएका छन् । रातुमा आएको बाढीले प्रत्येक वर्ष यहाँका बस्ती प्रभावित हुने गरेका छन् । डुबानमा परेको बस्तीमा जोखिममा रहेकालाई उद्धार गरी अन्यत्र सार्न सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका प्रमुख तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत डुबान क्षेत्रमा सुरक्षा सामग्रीका साथमा परिचालन गरिएको भट्टराईले बताए । डुबेको बस्तीबाट पानी पठाउन ठाउँ–ठाउँबाट पानी काट्ने काम भइरहेकाले जोखिम बिस्तारै कम हुने उनको भनाइ छ । अझै वर्षा नरोकिए रातु नदीको बाढीले अन्य पालिका हुँदै जलेश्वरसमेत डुबानमा पर्ने हुँदा सुरक्षित भएर बस्न पनि प्रजिअ भट्टराईले आग्रह गरेका छन् । बाढीले सयौँ हेक्टर खेतमा लगाइएका करोडौंका बाली नष्ट गरेको छ ।

कैलाली : एक सय ६० घर डुबानमा
कैलालीका भजनी र जानकी गाउँपालिका तथा टीकापुर नगरपालिकाका विभिन्न बस्तीका एक सय ६० घर डुबानमा परेका छन् । करिब दुई सय परिवार विस्थापित भएका छन् । लम्कीचुहा नगरपालिका– ६ गुलरामा बाढीले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ । गुलरा नदीमा आएको बाढीले बगाएर ९५ वर्षीया फुपिया थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले भजनी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको बताए । त्यहाँ विस्थापित भएका करिब ७० परिवार हुलाकी सडकमा बसिरहेको जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । भजनी– ५ का अध्यक्ष केशवबहादुर बुढाका अनुसार मोहना र कान्द्रा खोलामा आएको बाढीले लालबोझी, पुलियापुर, लखरैया, लौबस्तालगायत अधिकांश बस्ती जलमग्न छन् । शाहीपुरमा कर्णाली नदीले तटबन्ध भत्काएको छ ।

जानकी गाउँपालिकाका ८० घरमा बाढी पसेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले बाढी घटेपछि बेलुकीसम्म अधिकांश परिवार घर फर्केको जानकारी दिए । कटैनीको बाढीले कैलारी गाउँपालिका– ७ छटकपुर वसन्तामा केही घर डुबानमा परेका छन् ।

कैलालीकै चुरे गाउँपालिका– ५ गोपालेमा हर्कबहादुर राना र लीलबहादुर रानाका घर पहिरोले बगाएको वडाध्यक्ष नरबहादुर तामाङले जानकारी दिए । पहिरोले गोठ बगाउँदा आठवटा बाख्रा मरेका छन् । वडाध्यक्ष तामाङका अनुसार गोपालेमा ११ घर, काफलगैरामा २५ घर, मैतेताणमा १० घर अति जोखिममा परेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७