फोहर नउठेपछि घर–घरबाट वागमतीमा फालिँदै डंगुर


१२ भाद्र २०७८, शनिबार
Bagmait

काठमाडौं, १२ भदौं । डेढ महिनादेखि काठमाडौं उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वागमती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ ।

वागमती सफाइ महाअभियानको ४३३ औं हप्तामा काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीको शिव मन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा. माला खरेलले जानकारी दिइन् ।

करिब १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा भएको फोहर नदी किनारमै थुपार्नु परेको अभियानकर्मीले जनाएका छन् । डेढ महिना अघिदेखि नै राजधानीको फोहर नउठ्दा सफाइ गरेर फोहर नदी किनारमै थुपार्न बाध्य हुनुपरेको हो । आजको सफाइमा पनि खोलाबाट फोहर टिपेर किनारमा राखिएको हो । पानीले फेरि फोहर नदीमै लैजाने चिन्ता रहेको अभियानकर्मी खरेलले बताइन् ।

सफाइमा अधिकार सम्पन्न वागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, ११ नम्बर वडा अध्यक्ष हीरालाल तण्डुकार, ९ नम्बर वडा सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मीको सफाइमा सहभागिता थियो । थापाथली क्षेत्रको सफाइका क्रममा प्रसूति गृह पछाडिको सुकुम्बासी बस्तीको पनि अनुगमन गरिएको छ । सुकुम्बासी बस्तीका कारण पनि यस क्षेत्रको नदी फोहर बन्नेक्रम बढेको छ ।

वि.सं. २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत प्रतिकूल अवस्थामा जारी छ । वागमतीसँगै गुह्येश्वरीमाथिको वागमती खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७