दोस्रो पुस्ताप्रति माधवको गुनासो : ओलीलाई फाल्न अघि बढ भने, फर्केर हेर्दा भागिसकेछन्


१२ भाद्र २०७८, शनिबार
madhav nepal

काठमाडौं, १२ भदौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले मैदान छाडेर भागेको बताएका छन् ।

पेशागत महासंघ नेपाल बागमती प्रदेशले आज (शनिबार) आयोजना गरेको ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो गुनासो व्यक्त गरेका हुन् । ‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए’, उनले भने,‘’उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो । सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्‍यौं । त्यहीकारण ओलीले सत्ता पनि छाड्नु पर्‍यो ।’

नेपालले ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर हिंडेको पनि बताए । ‘केपी ओली हटाउने कुरामा सहमति जुटाउँदा केहीले खुट्टा कमाए’, दोस्रो पुस्ताका नेताबारे उनले थपे, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन । सबै खुट्टा कमाएर हिंडिसकेछन् ।’

एमाले विभाजनलाई उनले एउटा सामान्य घटना भएको बताए । ‘एउटा व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहन्छन् । केही केही व्यक्तिहरु पार्टी विभाजित हुँदा रमाउँछन्, नाच्छन्, भोज खान्छन्’, ओलीतिर लक्षित गर्दै उनले भने, ‘पार्टी फुटाएर रमाएको त्यही गुट फेरि पार्टीबाट पिलो निस्क्यो हाइसञ्चो भइरहेको छ भनिरहेको छ । अझै पनि खिल अझै बाँकी छ भनिरहेको छ । घाँडो पन्छियो भनिरहेका छन् ।’

उनले गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको स्पष्ट पारे । ‘ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने संकेत नदेखिएपछि विद्रोह गरेका हौं’, उनले भने, ‘सहमतिलाई नक्कली सहमतिको जामा पहि¥याउने काम गरेपछि, आफ्नो टाङमुनि छिराउने नियत देखिइसकेपछि हाम्रो सामु कुनै बाटो भएन । प्रतिगमनको बाटोमा नजान पटक–पटक आग्रह ग¥यौं । तर नमानेपछि हामीले विद्रोहको बाटो रोजेका हौं ।’

अध्यक्ष नेपालले माथिकाले छाडे पनि आफ्नो साथमा कार्यकर्ता रहेको पनि बताए । ‘माथिकाले छाडे के भयो र तल तलका कार्यकर्ता मेरा सहारा हुन्’, उनले भने, ‘त्यसैले मलाई जोश बढेको छ । दोस्रो पुस्तालाई नेतृत्व प्रदान गर्न अहिले पनि म तयार छु । दोस्रो पुस्ताका आए नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाई दिएर म बिदा हुन्छु ।’

उनले ओलीविरुद्ध आफूहरुले चलाएको यो अभियान पदको लडाइँ नभएको बताए । ‘पुष्पलालले केशरजंगसँग विद्रोह गरेर नयाँ पार्टी बनाए । हामीले पनि पुष्पलाललाई पनि छाड्यौं’, उनले थपे, ‘एक कार्यकाल भन्दा बढी म पार्टीको अध्यक्ष पदमा बस्ने छैन । अरु जस्तो नक्कली छैन । एउटा कार्यकाल मात्रै बस्छु, ओली जस्तो होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७