किन मृत्यु रोज्छन् लैंगिक अल्पसंख्यक ?


१३ भाद्र २०७८, आईतवार
Talking each other quer gendar 20210829002543

काठमाडौं, १३ भदौं । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन् । २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन् । १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार गरी नयाँ जीवन दिन चिकित्सक सफल भए ।

धन्न यो समुदायको संस्था नीलहिरा समाज थियो र उपचार सम्भव भयो । अध्यक्ष पिंकी गुरुङले यसको चाँजो मिलाएकी थिइन् । ‘अत्यन्तै तनावमा थिएँ । नशाको तालमा नराम्रो निर्णय लिएछु’, भण्डारीले भनिन् । तनाव अरू केहीले होइन, लैंगिक अल्पसंख्यकलाई राज्य र समाजले हेर्ने दृष्टिकोण अनि पाइला–पाइलामा दिने दुःखले सिर्जना गरेको थियो ।

नीलहीरा समाजको तथ्यांकअनुसार लकडाउनमा मात्र २४ जना लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले स्वेच्छिक मृत्यु रोजेका छन् । अध्यक्ष गुरुङले भनिन्, ‘बेलैमा उपचार गरेर भण्डारी र अरू ३ जनालाई चाहिँ बचाउन सफल भयौं ।’

आवेगमा आएर ज्यानै फाल्ने निर्णय गर्नुको पछाडि विभिन्न कुराले प्रेरित गरेको उनीहरूको तर्क छ । झुटो प्रेम, बुलिङ, अपहेलना, तिरस्कार, परिवार, समाजको अस्वीकार, अनावश्यक दबाब, आर्थिक भार, लैंगिक पहिचान नहुनु आदि मुख्य जड बनेका छन् ।

भण्डारीले पनि आफ्नो वैवाहिक जीवनमा असन्तुलन महसुस गरेकी थिइन् । तर, उनले कसैलाई पनि यस्तो कदम नउठाउन आग्रह गरिन् । भनिन्, ‘शरीर पूरै गलेको छ, निकै गाह्रो हुँदोरहेछ । आवेगमा आउँदा दुःख पाइने रहेछ । जिन्दगीको महत्व बुझांै, अमूल्य जीवन खेर नफालौं ।’

लकडाउनकै बीच धनगढीमा समलिंगी महिला जोडीले एउटै रूखमा झुण्डिएर ज्यान फाले । उक्त दुर्घटना निम्तिन आर्थिक समस्या रहेको बताइएको छ । २३ र २४ वर्षका ती जोडी नेपाल–भारत सीमाबाट सामान ल्याएर व्यापार गर्थे तर लकडाउनपछि यो चलेन ।
नीलहीरा समाजमा कार्यरत मिलन शाहका अनुसार सुदूरपश्चिमबाट आएका ती जोडी दिदीको घरका बस्थे । तर, आफन्तहरू पैसा भइन्जेल माया गर्ने र नभएपछि हेला गर्न थाले । ‘व्यापार बन्द भयो । आफन्तले हेला गर्न थाले । आर्थिक भार र अपहेलनाका कारण ज्यानै लिएको देखियो ।’

राजविराजको घटना पनि त्यस्तै छ । २८ वर्षका पारलिंगी पुरुष काठको काम गर्थे । घरमा रंग पनि लगाउँथे । एउटा बच्चा पालेर बसेका थिए । काम नपाएपछि बच्चालाई ख्वाउन सकेनन् । श्रीमती माइत गइन् । आर्थिक अभावका कारण ती व्यक्तिले आफ्नै ज्यान लिए ।

सामाजिक लाञ्छनाबाट जोगिन यस समुदायका व्यक्तिले इच्छाविपरीत विवाह गर्ने गरेका छन् । सोह्रखुट्टेमा बस्दै आएकी ४० वर्षीया पारलिंगी महिलाको घटना यस्तै छ । उनी छोरीको विवाह गर्ने तयारीमा थिइन् । केही सामान जोडजाड गरिसकेकी थिइन् । लकडाउनमा केही काम हुन सकेन । आर्थिक बोझका कारण उनले पनि आफूलाई सिध्याइन् । जबरजस्तीको विवाहले खुसी नभएको र दिनहुँ बलात्कृत भएको महसुस गरेकाले दुई वर्ष पहिला दाङबाट काठमाडौं आएको बताउने गर्थिन् उनी ।

शाहका अनुसार धरानमा भएको घटनामा २५ वर्षका पारलिंगी पुरुषले परिवारका कारण ज्यान फाले । उनी परिवारमा खुलिसकेका थिएनन् । लकडाउनपछि सधैं घरै बस्नुपर्ने भएपछि परिवारले उनका बारेमा थाहा पाए । नियन्त्रण गर्न थाल्यो। विवाहका लागि बारम्बार दबाब दिएकाले तनाव भएको साथीहरूलाई सुनाउने गर्थे । उनको कुरा साथीहरूले हल्का रूपमा लिए। तर, केही दिनमै उनले पनि आफैंलाई सिध्याए ।

बलात्कार र यौनहिंसाको सिकार
हेटौंडामा ३० वर्षीया पारलिंगी महिला हजुरआमा पालेर बसेकी थिइन् । एक दिन उनलाई चिनजानको ड्राइभरले कल गरेर बोलाए । उनी गइन् । तर, कहिल्यै फर्किनन् । उनलाई सात जनाले बलात्कार गरेर बाटोमा फालेका थिए । उनीसँग भएको पैसा तथा मोबाइल समेत लुटेर लगिएको थियो । तर, ती ड्राइभरले मृतकको मोबाइल श्रीमतीलाई चलाउन दिएपछि प्रहरीले अपराधीहरूलाई पक्राउ गरेको थियो । लकडाउनभन्दा केही पहिला नवलपरासीमा यस्तै घटना भयो ।

विवाहमा नाचगानका लागि पारलिंगी महिलालाई बोलाइयो । नाचगान सकाएर पैसा लिई घर फर्कंदै गर्दा उनी चार जनाबाट बलात्कृत भइन् । तराईतिर यस समुदायका मानिसहरू नाचगानमा जाने, विवाह, व्रतबन्ध जस्ता कार्यमा आशीर्वाद दिनका लागि बोलाउने गरिन्छ । यसरी गुजारा गर्दै आएकी उनीहरूलाई लुट्ने तथा गुण्डा लगाएर मार्ने गरेको घटनाहरू देखिएको शाहले जनाए ।

वर्षौंदेखि पारलिंगीहरू हिंसाको शिकार भएको देखिएको छ । सन् २००३ मा भएको एउटा घटना डरलाग्दो छ । हाँडीघोप्टे नाम गरेका पारलिंगी पुरुष जोरपाटीमा बस्थे। उनी आफ्नै कोठामा सामूहिक बलात्कारमा परेर मारिएका थिए । बलात्कारीले औंलाहरू ब्लेडले चिरिदिएका थिए, शरीरभरि चोटपटक थियो । घटनापछि ढोकामा ताल्चा लगाएर उनीहरू भागेका थिए ।

जमलमा भएको अर्को घटनामा जया नाम गरेकी पारलिंगी महिलालाई मुख मैथुनका लागि उनको ग्राहकले दबाब दिएको थियो । उनी त्यहाँबाट भाग्न खोज्दा धारिलो हतियारले उनीमाथि हमला भयो । उनको भोकल कर्ड काटिएका कारण सधैंका लागि आवाज गुम्यो । हमला रोक्न खोज्दा हत्केलादेखि बुढीऔंलासम्म छिन्नै लागेको थियो ।

तर, जुनु गुरुङ नाम गरेकी पारलिंगी महिलाको हत्यारालाई १५ वर्षको जेल सजाय सुनाएर सर्वोच्च अदालतले लैंगिक अल्पसंख्यकहलाई न्याय गरेको यस समुदायका मानिसहरू बताउँछन् । पोखराकी ३२ वर्षीया जुनुको पार्टनर विदेश कार्की (२१) ले उनको हत्या गरेका थिए । बालुवाटारमा उक्त घटना करिब डेढ वर्ष पहिला भएको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७