व्यावसायिक कालिज पालनमा रमाउँदै युवा


१३ भाद्र २०७८, आईतवार
kalij fam

बाँके, १३ भदौं । बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिजपालनबाट मनग्गे आम्दानी गर्न थालेका छन् । खजुरा–४ मा व्यावसायिक कालिजपालन गरेका पौडेलले कालिजको एक दिनको चल्लालाई रु एक हजार ४०० मा बिक्री गर्ने गरेको बताए ।

‘एक दिनको चल्ला रु एक हजार ४०० मा बिक्री गर्ने गरेको छु, फार्ममै आएर चल्ला लिने गरेका छन्’, उनले भने, ‘खानलायक भइसकेको एउटा कालिजलाई रु तीन हजार ५०० पर्दछ ।’ अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर फार्ममै ह्याचरिङ गरी चल्ला निकालिएको उनले जानकारी दिए । अहिले उनको खजुरा कृषि फार्ममा एक हजारभन्दा बढी कालिजका चल्ला छन् । कालिजका चल्ला फार्मबाटै धमाधम बिक्री हुने गरेका छन् ।

रु ५० लाखको लगानीमा कालिजपालन सुरु गरेको जानकारी दिँदै उनले दशैंसम्म हजारभन्दा बढी कालिज बिक्री गर्ने लक्ष्यसहित चल्ला हुर्काउन लागिपरेको बताए । ‘दशैंँसम्म एक हजारभन्दा धेरै कालिज खानलायक बनाएर बिक्री गर्ने योजना छ’, उनले भने, ‘दशैंभन्दा पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छन्, कालिजको माग जिल्लामा अत्यधिक छ ।’

बाँकेमा कालिजपालनका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम रहेको छ । कालिजले ३० डिग्री सेल्सियस भन्दा बढी तापक्रम सहन सक्दैन तर बाँकेमा गर्मीमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । त्यसका लागि सकेसम्म धेरै गर्मी हुन नदिन व्यवस्था मिलाइएको उनले बताए । कालिजलाई राख्नका लागि पौडेलले जाली लगाएका छन् । कालिजले घाँस, दाना, मकै, गहुँ खान्छन् ।

बाँके जस्तो गर्मी हुने स्थानमा कालिजको व्यावसायिक पालन चुनौतीपूर्ण रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा. भूपेन्द्र ओलीले जानकारी दिए । उनले कालिजको व्यावसायिक पालन चिसो ठाउँमा सम्भव हुने भएकाले गर्मीमा कालिज पालन फस्टाउन गाह्रो हुने भए पनि असम्भव भने नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७