बेपत्ता दिवस : २१ वर्षपछि मृत्युको न्यायिक घोषणा


१४ भाद्र २०७८, सोमबार
1630283421 rolpa 1200x560 1

रोल्पा, १४ भदौं । २०५७ फागुन १० गते बेपत्ता बनाइएका बिर्खलाल कुँवरको परिवारले २१ वर्षपछि अदालतबाट मृत्युको न्यायिक घोषणा पाएको छ । रोल्पा नगरपालिका–१ बासिनाका बिर्खलाललाई तत्कालीन विद्रोही पक्षले ४३ वर्षको उमेरमा घरबाटै बेपत्ता बनाएको थियो ।

साना ५ छोराछोरीलाई पत्नी बिरमाले कष्टपूर्वक हुर्काइन् । बिर्खलाल बेपत्ता भएपछि त्यो परिवारमा परेको पीडाका बारेमा कहीं कतैबाट सोधखोज भएन, सहयोगको त कुरै छाडौं । जानीनजानी द्वन्द्वबाट प्रत्यक्ष प्रताडित र उनीहरूका परिवारले भोग्नेगरेको मानसिक पीडा झनै ठूलो छ । मानसिक स्वास्थ्यलाई समस्याका रुपमा नलिने गरिएका कारण पीडित जहिल्यै पीडामै रहन बाध्य हुन्छन् ।

रोल्पा नगरपालिका–६ कोटगाउँकी ६३ वर्षीया मेघमाली बुढा पनि तत्कालीन १० वर्षे माओवादी युद्धबाट पीडित हुन् । २०५८ चैत १५ गते उनका पतिलाई माओवादीले घरबाट लगेर छेउको गाउँमा गोली हानी मारेका थिए । पीडा यतिमै रोकिन्न। २०५९ सालमा दाङमा पढ्ने भाइलाई भेट्न रोल्पाबाट झरेका मेघमालीका जेठा छोरा हीराबहादुर बुढालाई उतैबाट तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनायो । मृतकलाई मात्र राहत दिने सरकारको निर्णयपछि उनले उति बेलै बेपत्ता छोराको मृत्यु दर्ता गराइन् ।

पतिलाई माओवादीले गाउँमै मारे । पतिको हत्याको घाउमा खाटा नबस्दै सेनाले छोरो बेपत्ता बनाएपछि मेघमाली विक्षिप्त जस्तै भइन् । ‘छोरा आउला भन्ने आश छैन। सुरुसुरुमा आश लाग्थ्यो, अब त मरिसक्यो’, उनले बेथा सुनाइन्, ‘पतिलाई कांग्रेस, सिआइडी भनेर मारे । बिचरा, ग्वाला–गोठालो जान्थे, घरगाउँ गर्थे । के बिगारेका थिए र माओवादीले मारे ? त्यस्ता सोझाले पनि सिआइडी गर्छन् ? मरेको लासवरिपरि कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए ।’ त्यसो गर्नेहरू कोको हुन्, थाहा छ मेघमालीलाई । तर आगामी पुस्ताका लागि विगत भुल्न बाध्य छिन् । ‘उनीहरूले जस्तो गर्न त भएन नि’, उनले भनिन् ।

माओवादी देख्दा नि मेघमालीको मन दुख्छ, सरकार भन्दा नि मन दुख्छ । एउटाले श्रीमान् मारे, अर्काले छोरा बेपत्ता बनाए । छोराको लास भए पनि, सास भए पनि हेर्ने धोको अझै मनको कतै कुनामा राखेकी मेघमाली बर्बराउँदै गर्दा आखा टिलपिल टिलपिल पार्छिन् ।

पति ढाटे थापालाई बेपत्ता पारिँदा रोल्पा नगरपालिका–१ हरिगातिनाकी प्रतिमा थापा गर्भवती थिइन् । बाबुको अनुहारसमेत नदेखेका छोरा अहिले जवान भएका छन् । अरुको बुबा देख्दा रहर गर्ने छोराको रहर पूरा गर्न श्रीमान् फर्किन्छन् कि जस्तो लाग्छ अझै पनि प्रतिमालाई । बूढी सासू र छोराको मुख हेरेर जसोतसो जीवन जिउँदै छिन् प्रतिमा । २०-२२ वर्षको उमेरमा भारत मजदुरी गर्न हिँडेका पति होलेरीबाट बेपत्ता बनाइएपछि आशैआशमा जिउँदै गरेकी प्रतिमाभित्रको पीडा अहिले झन् बढ्दैछ । ‘अर्को बिहे गरौं भने छोरो अनि घरमा बूढी सासू । उनीहरूकै मुख हेरेर बसें । दुःख त कति भोगें कति ।’ श्रीमान्को लासको अत्तोपत्तो नभए पनि उनले मृत्यु दर्ता गराएर राखेकी छन् ।

कोर्चावाङकी दिलकुमारी गुरुङ पति बिरामी भएपछि २०६० सालमा औषधि उपचारका लागि काठमाडौं पुगिन् । हातखुट्टा दुख्ने बेथाले भेटेका पतिलाई भर्ना गरिएकै अस्पतालको बेडबाट सेनाले लगेपछि न सासरहेको थाहा भयो न लास नै दियो । ‘घररोल्पा भन्दा बित्तिकै सेनाले लग्थ्यो । बालाजु ब्यारेकमा लगेका हुन् भन्थे । धेरै पटक ब्यारेक गएँ । भेट्न दिएन । हार मानेर फर्किएँ ।’ पति दलबहादुर गुरुङलाई बेपत्ता बनाइएपछि अहिले उनी दुःखैदुःखबीच २ छोरी हुर्काउँदै छिन् ।

‘खान पुग्ने सम्पत्ति पनि छैन। हे भगवान ! जीवन कसरी चलाइया छ, बखान गर्नै सक्दिनँ’, उनले दुःख बिसाइन्, ‘थोरै जमिन छ, दाइभाइ, छिमेकीले जोतिदिन्छन् ।’ एकहल गोरु, २–३ वटा कुखुरा, २–३ वटा वाख्राले आफ्नो अनि २ छोरीको जीवन चलाउँदै छिन् दिलकुमारी । ‘छोरीका अगाडि बाबाको फोटो देखाउनै हुँदैन । रुन थाल्छन्’, उनले भनिन् । माओवादीले लगाएको गुन भनेको राहत लिन जाँदा कागजपत्र मिलाइ दिएको बाहेक अरू केही गरेको अनुभव छैन दिलकुमारीसँग ।

शान्ति प्रकृया सुरु भएताका मृतकलाई मात्रराहत दिने सरकारको निर्णय आएपछि रोल्पाका धेरैजसो बेपत्ता नागरिकका परिवारले सास÷लास अज्ञात हुँदाहँुदै पनि बेपत्ताको मृत्यु दर्ता गराएका थिए । बेपता पारिएका व्यक्तिको छानबिन आयोगमा जिल्लाका ९८ बेपत्ता नागरिकबारे उजुरी परे पनि सरकारी तथ्यांकमा ३३ जनाको मात्रै सूची छ । गणतन्त्रसँगै देशमा आएको भनिएको जनताको व्यवस्थार तीन तहका सरकारले द्वन्द्वपीडितका पक्षमा न कुनै कार्यक्रम ल्याए न त उनीहरूको जीविकाका सवालमा सम्बोधन नै गरे । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७