यसरी जोगियो माधव नेपालसहित १४ सांसदको पद


१४ भाद्र २०७८, सोमबार
madhab nepal

काठमाडौं, १४ भदौं । नेकपा (एमाले) बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटा समक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो ।

निर्वाचन आयोगले ११ भदौमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेको थियो । दल दर्ताको सूचना निर्वाचन आयोगले संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिस गरिएकाविरुद्ध कुनै कदम चाल्नु नपर्ने निर्णय आइतबार सभामुखले गरेका हुन् ।
सभामुखको निर्णयसँगै नेता नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको सांसद पद जोगिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन तथा नयाँ दल दर्ता भइसकेको अवस्थामा कारबाही गर्नु नपर्ने निर्णय सभामुखबाट भएको हो ।’ गत १ भदौमा एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । २७ वैशाख २०७८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेकाले उनीहरूलाई पार्टी र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७