बाढी–पहिरोका कारण चार दिनमा १२ को मृत्यु, तीन जना बेपत्ता

दार्चुलामा बाढीले पसल, पुल, रेञ्जर पोष्ट बगायो


१४ भाद्र २०७८, सोमबार
nawalparasi zQNgWH6qPA

काठमाडौं, १४ भदौं । बाढी–पहिरोका कारण बितेका चार दिनमा नेपालमा १२ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा तीन जना बाढी–पहिरोमा बेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढी–पहिरोमा परेर ९ जना घाइते भएका छन् । बाढीको कारण तराईका विभिन्न जिल्लामा पाँच हजार भन्दा धेरै घर डुबानमा परेका प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए । गएको बिहीबारदेखि आइतबारसम्म बाढीपहिरोको कारण देशभर ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा, सुनसरी, सप्तरीलगायतका जिल्लामा बढी असर गरेको छ । बाढी पहिरो पीडितलाई पालिकामार्फत उद्धार र राहतको काम भइरहेको अर्यालले जानकारी दिए । उद्धार र राहत आवश्यक परेमा नजिकको प्रहरी र आफ्नो पालिकामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
दार्चुलामा बाढीले पसल, पुल, रेञ्जर पोष्ट बगायो
लगातारको वर्षाका कारण निजाङ्ग खोलामा आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरू बगाएको छ ।

महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आइतबार राति आएको बाढीले श्रीबगडस्थित खोला किनारका थप तीन पसल र एक घर बगाएको स्थानीय लोकेन्द्रबहादुर बमले जानकारी दिएका छन् । खोलाले स्थानीय दीपकबहादुर बमको घर तथा सुन्दरबहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले बताए । खोलामा बाढी आउँदा सो क्षेत्रका स्थानीयहरू सुरक्षित स्थानमा गएका छन् ।

श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । लगातार भइरहेको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेर भारततर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुबानमा परेको छ । निजाङ्ग खोलामा आएको बाढीले केही बेर महाकाली थुनिएपछि एनएचपिसी डुबानमा परेको स्थानीयको भनाइ छ ।

एनएचपिसी डुबानमा परेपछि केही कर्मचारीभित्रै फसेपछि उनीहरूको सकुशल उद्धार गरेको बुझिएको छ । बाढीले पु¥याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७