बिना इजाजत १३ सय किलो एसिड विक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ


१४ भाद्र २०७८, सोमबार
Pokhara Acid

पोखरा, १४ भदौं । अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव सिंह र बाग्लुङका बलबहादुर बिक छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आरोपीहरुको साथबाट १ हजार ३ सय ५० केजी सिलबन्दी तथा लेबलिङ नगरिएको एसिड बरामद गरेको छ । पोखरा महानगरपालिका–४ स्थित गैह्रापाटनबाट प्रहरीले ग.३ च ११४३ नम्बरको जिप चालक चितवन बस्दै आएका मिनबहादुर भारती र केशव सिंहको साथबाट १ हजार केजी एसिड बरामद गरेको थियो । लेबलिङ नगरिएको र अनुमति नलिइकन गाडीमा एसिड लिएर उनीहरु पोखरा पुगेका थिए ।

पोखरा महानगरपालिका–२ मैरिया टोलस्थित अभिषेक औजार पसलबाट अनुमति बिना बेच्न राखिएको थप ३ सय ५० केजी एसिड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका मध्येका ६३ वर्षीय बलबहादुर बिक सो औजार पसल सञ्चालक हुन् । आरोपीहरुलाई तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ बमोजिम म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७