राहदानी लिनै हैरानी


१५ भाद्र २०७८, मंगलवार
rahadani 1 20210831002730

काठमाडौं, १५ भदौं । मौसम विभागले सार्वजनिक गरेको सूचना ठ्याक्कै मिलेर हुनुपर्छ झरी रोकिएको थिएन । घडीले बिहानको ४ बजाएको थियो । झरीमा रूझ्दै सेवाग्राही पुगिसकेका थिए । ढिला पुगे काम नहुने चिन्ता ।

घुम्न, पढ्नभन्दा पनि नेपालमा रोजगारी नपाएर विदेश जान चाहने धेरै युवाको पहिलो यात्राको गन्तव्य हो यो राहदानी विभाग । जिल्लाबाट ढिला हुने भएकाले छोटो समयमा राहदानी बनाउन र रिन्यू गर्न यहाँ पुग्नै पर्छ । तर, यति काम सक्न यहाँ जो कोहीलाई सहज छैन । राहदानी विदेश यात्राका लागि पहिलो डकुमेन्टमा पर्छ । विभागले २०६७ पुस ६ गतेदेखि मेसिन रिडिएबल पासपोर्ट दिँदै आएको छ ।

भदौरे झरी वर्षिरहेको छ । निथु्रकै भिजेर पनि आँखा मिच्दै लाइनमा छन्, म्याग्दीको रघुगंगाका ३२ वर्षीय रेशम परियार। नारायणहिटीस्थित राहदानी विभागको गेटमा उनी आइतबार बिहानै ४ बजे भेटिए । मोटरसाइकलमा दुई सय किलोमिटर यात्रा गरेर उनी राहदानी नवीकरण गर्न आएका थिए । बाटाभरि पानीले चुटेको दुःखेसो पोखे । ७ घण्टामा काठमाडौं टेकेका उनी लखतरान देखिन्थें ।

‘५० लाख खर्च गरेर ब्राखापालन गरेको थिएँ । कोरोना महामारी अघि एकै पटक ५० वटा मरे,’ उनले भने, ‘ऋणको कुरै नगरौं, फर्म ऋणमै छ ।’ ऋण तिर्न विदेश जानुको विकल्प नरहेको उनले बताए । ‘राहदानी नवीकरण गर्न आधा रातदेखि लाइनमा छु । काम हुन्छ कि हुँदैन ठेगान छैन ।’
शौचालयमा भोटे ताल्चा
बिहान ४ः३० मा पोखराकी लक्ष्मी गुरुङ लाइनको अगाडि थिइन् । ‘जापान पढ्न जाँदैछु,’ उनले भनिन्, ‘रातभरि बसमा आउनुप¥यो । यहाँ त लाइन नलागी पासपोर्ट बनाउनै नसकिने रहेछ ।’ बिहानीले दिनलाई स्वागत गर्दै थियो । ‘चिया खानुस्, चिया खानुु्’ भनेर थर्मस लिएर व्यापारी भीडमा आइपुगे । ५ः३० मा भेटिए, हेलमेट लगाएका ४२ वर्षीय अमृत विक । ‘यत्रो मान्छे लाममा छ । ट्वाइलेट चाहिँ भोटे ताल्चा लाएर छाड्ने हो ?’ उनले भने, ‘ट्वाइलेट लागेको छ । कहाँ जानु ?’
थाकेर थुचुक्क
५ः५८ मा भेटिएका महोत्तरी बर्दिबासका २३ वर्षीय केदार धमला २ वर्षअघि विदेशमा ठगिएका थिए । ‘६ महिनामै भागेर मलेसियाबाट २ वर्ष पहिले नेपाल आएँ, उनले पुरानो दुःख सुनाए । ‘जे पर्लापर्ला भनेर पासपोर्ट छाडेर फर्किए ।’ तर, कोरोना महामारीपछि विदेश जानैपर्ने बाध्यताले उनी राहदानी बनाउन आएका थिए । त्यसका लागि उनी महोत्तरीबाट शनिबार साँझ बस चढेर ६ बजे बिहान राजधानी उत्रेका थिए । ‘२ सय रुपैयाँ पठाओलाई दिएर ४ बजे यहाँ आइपुगें,’ उनले भने, यहाँ कतिबेर कुर्नुपर्ने हो टुङ्गो छैन ।’

घडीमा ६ः३५ बजेको थियो । सर्लाही बरहथवा–३ का २६ वर्षीय राम विनायक ठाकुर लाइनको बीचमा थुचुक्क बसेका थिए । ‘उभिँदा–उभिँदा कुर्कुचा दुखेर बसेको,’ उनले भने, ‘विदेश जाने प्रोसेस पनि कति झन्झटिलो । २ घण्टा माथि लाइन बसेर राहदानीको अनलाइन फारम भरेर आएँ । यहाँ फेरि कतिबेर लाग्ने हो ?’

लाममा तँछाडमछाड
बिहानको ७ः१५ बज्यो । झरीको रफ्तार बढ्दै थियो । देशका कुनाकाप्चाबाट भोकैतिर्खै यात्रा गरेर आएका सेवाग्राहीको भीड पनि बढ्दै थियो । गेट बाहिर दायाँपट्टी कार्यालय खुल्ने प्रतीक्षामा थामिनसक्नु भीड थियो । नयाँ राहदानी बनाउन र नवीकरण गर्नमात्र होइन, एउटा अक्षर गलत भएका कारण सच्याउन आएकाहरू पनि ठेलमठेल लाइनमा थिए ।

प्रहरीलाई लाइन मिलाउन हम्मे थियो । सिट्ठी बजाउँदै लठ्ठी ठटाउंँदै प्रहरी सेवाग्रहीलाई लाइनमा बस्न सचेत गराइरहेका थिए । लाइन लागेकाहरू फलामे डण्डी नाघेर सेवा लिन तँछाडमछाड गर्थे । होहल्ला हुटिङ त कति हो कति, झैझगडा जस्तै ।

बाहिरको शौचालय ७ः४५ मा खोलियो। त्यसअघि प्रहरीले सेवाग्राहीलाई भित्रको शौचालयमा फाट्टफुट्ट जान दिन्थे । ‘ल क्लियर ब्याग र कलम लिएर जानुस् । डकुमेण्ट भिज्छ,’ २० वर्षीया सुनिता विक भीडमा चिच्याउँदै थिइन् । राहदानी लिन भीडमा लागेका युवाहरूलाई सामान बेच्दै गरेकी उनले दिनको १५ सय जति कमाई हुने गरेको बताइन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७