खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा


१५ भाद्र २०७८, मंगलवार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, १५ भदौं । विज्ञले खोप लगाएर मात्रै कोरोनाबाट पूर्ण सुरक्षित नभइने औंल्याएका छन्। कोभिड १९ को खोप लगाएपछि पनि कोरोना संक्रमण हुने र कतिपयमा जटिल समस्या समेत देखिने भएकाले खोप लगाए पनि लापरबाही गर्न नहुने सुझाव उनीहरूको छ ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलका अनुसार हाम्रो शरीरमा विभिन्न खालका रक्तकोष हुन्छन् । खोपमा हुने कोरोना भाइरसजस्तै तत्व रगतको टि–सेलमा पुगेपछि मेमोरी सेलले त्यसको फोटो खिचेर राख्छ । शरीरमा चाहिएका बेला अर्थात् कोरोना भाइरस प्रवेश गर्ने बित्तिकै खोपमा रहेको कोरोना भाइरसजस्तै ठानेर शरीरले एन्टिबडी बनाउन थाल्छ । भाइरसले रूप परिवर्तन गरेको भए हामीले लगाएको खोपले त्यस्तो भाइरसविरुद्ध काम नगर्न सक्छ । यस्तो बेलामा खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमणले जटिल समस्या हुन सक्छ ।

अर्कोतर्फ खोप लिए पनि कतिपय व्यक्तिको शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी बन्दैन । कुनै पनि खोपले सय प्रतिशत काम गर्ने सुनिश्चितता हुँदैन । नेपालमा हाल प्रयोगमा आएका खोपले ८५ देखि ९० प्रतिशतसम्म मात्र काम गर्ने उत्पादक कम्पनीले नै औंल्याएका छन् ।

एन्टिबडी बन्ने सुनिश्चितता नभएका १० देखि १५ प्रतिशतभित्र हामी पनि पर्न सक्ने भएकाले खोप लगाएकाले पनि जनस्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले सुझाएका छन् । ‘खोप लगाउनु भनेको कोरोना भाइरसको निर्विकल्प औषधि हैन । खोप लगाएको छ भन्दैमा लापरबाही गर्नु हुँदैन’, डा. पोखरेलले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै खोप लिएका र नलिएका दुवैले नेपालमा कोरोना पूर्ण रूपमा नियन्त्रण नभएसम्म जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका छन् । ‘खोप लिँदैमा कोरोनाबाट बच्ने पूर्ण सुनिश्चितता हुँदैन । सबैले कोरोनाको लक्षणमध्ये कुनै देखिएमा परीक्षण गरौं र आइसोलेसनमा बसौं’, उनले उल्लेख गरेका छन् ।
नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७