महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड


१५ भाद्र २०७८, मंगलवार
Laxmi Prasad Devkota Salik

झापा, १५ भदौं । झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार बिहान स्थानीयले भेटेका थिए ।

भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्व पश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक छ । सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको छ । समितिले दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गर्न पनि प्रहरीमा अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले सालिक तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताए । ‘सालिक भएको स्थान वरपरका बासिन्दासँग सोधपुछ गरिरहेका छौँ,’ थापाले भने, ‘पहिले पनि तोडफोडको प्रयास भएको भन्ने सुनेका छौं, समितिका पदाधिकारीहरूबाट पनि जानकारी लिइरहेका छौं ।’

सालिक तोडफोड भएकामा साहित्यकारहरूले विरोध प्रकट गरेका छन् । साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरे । केही वर्षअघि पूर्वीद्वार काँकडभिट्टामा पनि यसरी नै देवकोटाको सालिक तोडफोड हुने गरेको स्मरण गराउँदै साहित्यकार खरेलले अपराधीको खोजी गरेर दण्डित गर्न माग गरे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७