झुत्रा नोट जलाएर ब्रिकेट बनाइने, राष्ट्र बैंकले नेदरल्याण्ड्सबाट भित्र्यायो प्रविधि


१५ भाद्र २०७८, मंगलवार
money

काठमाडौं, १५ भदौं । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्याण्डस्बाट पहिलो पटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।

सो देशको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सो मेशिनबाट काठमाडौँमा ब्रिकेट उत्पादन गर्न शुरु भइसकेको छ भने आजै नेपालगञ्जबाट पनि थालनी गरिनेछ र छिट्टै अन्य दुई स्थानबाट पनि उत्पादन हुनेछ । ‘आगामी असोजसम्म बाँकी चार वटा मेशिन पनि झिकाई जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन शुरु हुनेछ’, उनले भने ।

पहिलो पटक जलाइएका चार सय बन्डल नोटबाट करिब चार सय केजी खरानी निस्केको थियो । नोटको आकारअनुसार खरानीको परिणाम फरक पर्ने उनको भनाइ छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउन झन्झटिलो हुने तथा धुवाँधुलोले वातावरण प्रदूषण हुने भएकाले आधुनिक प्रविधिअनुसार धुलाउने र त्यसलाई अन्य प्रयोजनमा ल्याउन सकिने भएकाले बैंकले उपकरण खरिद गरेको जनाएको छ ।

प्रमुख नेपालका अनुसार उपकरणको पहिलो भागले नोटलाई टुक्र्याउने काम गर्दछ भने दोस्रो भागले ब्रिकेट तयार गर्दछ । यसरी उत्पादन गरिएका ब्रिकेटलाई इँटाभट्टा वा कोइला प्रयोग हुने उद्योग, कारखानादेखि घरायसी प्रयोजनमा ल्याउन सकिने उनले जानकारी दिए । बैंकले प्रति वर्ष करिब ४०–४५ अर्बको नोट नष्ट गर्ने गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७