मोडल निशाको स्वास्थ्यमा देखिएन सुधार, उपचारमा ५० लाख बढी खर्च


१५ भाद्र २०७८, मंगलवार
nisha model

काठमाडौं, १५ भदौं । करिब तीन महिनादेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा खासै सुधार नदेखिएको अस्पतालले जनाएको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गरी अस्पतालले निशाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको हो ।

नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरेर निशाको उपचार गरिरहे पनि अपेक्षित सुधार नभएको नर्भिक अस्पतालले जानकारी दिएको छ । ‘उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको यही विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख भनिएको छ ।

फिल्म पढ्न भारत गएका बेला दुर्घटनामा परेर तीन वर्षदेखि थलिएकी मोडल घिमिरेको उपचारको जिम्मेवारी नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले लिएकी थिइन् । उनले गएको जेठ २७ गते समाजसेवीको सहयोग लिएर उद्धार कार्य शुरु गरेकी थिइन् । स्वास्थ्यमा अपेक्षित सुधार नदेखिए पनि विकल्पहरू सोचेर उनको उपचारमा निरन्तरता दिइने अस्पताल प्रशासनले जनाएको छ । हालसम्म निशाको उपचारका लागि ५० लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको र खर्च नर्भिक अस्पतालले नै व्यहोरिरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मोडल निशाको उपचारको नेतृत्व गरेका डा. पंकज जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकाले पूर्ण रूपमा सामान्य हुने सम्भावना एकदमै न्यून देखिन्छ । ‘ब्रेन ड्यामेज’ हुँदा पनि लामो समय उपचारविहीन भएकाले अपेक्षित सुधारको सम्भावना नदेखिएको बताइएको छ ।

मोडल निशाको उपचारका लागि पहल गरेका नवजीवन परोपकार संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार अहिले पनि उनलाई अक्सिजनको सहायतामा नै राखिएको छ । खाना, औषधिहरू घाँटीमा पाइप जोडेर दिइएको छ । निशाको उपचारका लागि खडा गरिएको कोषमा हालसम्म १६ लाख रुपैयाँ रकम जम्मा भइसकेको पनि उनले जानकारी दिए । लामो समय उपचारविहीन अवस्थामा बसेकाले अहिले आएर कोसिस गरिएपनि अपेक्षित रुपमा घिमिरेको स्वास्थ सुधार हुन नसकेको डाक्टर जलानले बताए ।

‘स्वास्थ अवस्था यस्तै रहने हो भने घिमिरेलाइ राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको छ । यो विषयमा पनि आफूले सोचिरहेको नर्भिककी प्रबन्ध सञ्चालक मेघा चौधरीले बताउनु भएको छ,’ नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७