बाहिरी जिल्लामा जुम्ली स्याउको माग बढ्यो


१५ भाद्र २०७८, मंगलवार
apple

जुम्ला, १५ भदौं । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न शुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न शुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात शुरु भएको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो । कृषिफर्म सञ्चालन गरेका तथा स्याउ बगैंचा भएका किसानले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिस लिनुपर्ने प्रावधान छ ।

स्याउको पहिचान बचाउन लोगो टाँसिएको कार्टुन व्यापारीलाई उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन एकाइले जनाएको छ । स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म दुई हजार टनभन्दा बढी बाहिरी जिल्लामा निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । यहाँ उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइएको छ यी मध्ये ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको कार्यालयले जनाएको छ ।

स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार आठ सयव कार्टुन वितरण गरिएको छ । स्याउ सुपोरजन कार्यालयले १० हजार आठ सय र कृषि विकास कार्यालयले २१ हजार वितरण गरेको हो । स्याउ जिल्ला बाहिर निर्यात गर्न सहज होस् भनी ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराइएको हो । कार्यालयमा पाँच सय १६ उद्योगी, कृषिफर्म तथा सहकारी कृषक समूह सूचीकृत छन् ।

जिल्लामा १५ हजार स्याउ बगैंचा भएको तथ्याङ्क छ । जिल्लाको कूल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैंचा स्थापना रहेको कार्यालयले जनाएको छ । जिल्लाको तीन हजार आठ सय हेक्टरमा स्याउ खेती हुन्छ । यस वर्ष व्यापारीले बगैंचामा नै पुगेर प्रतिकिलो रु ५० देखि ६० मा स्याउ खरिद गर्दै आएका छन् । गत वर्ष करिब रु १२ करोड बराबरको स्याउ बिक्री भएको थियो ।

किसानलाई कृषि औजार

यसैबीच पातारासी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले किसानलाई कृषि औजार वितरण गरेको छ । सो गाउँपालिका २४ किसानलाई किर्डाक नेपालले औजार वितरण गरेको हो ।

ती सामग्रीमा सिल्पोलिन, फरुवा र हजारी, त्रिपाल एकएक थान, गार्डेन पाइप दुई रोल, प्लाष्टिक केरेट तीन थान र नाइलन डोरी चार केजी रहेका छन् । एक किसानलाई रु १४ हजार ६ सय ४१ बराबरको औजार वितरण गरिएको सस्थाका कार्यक्रम अधिकृत धिरनाथ योगीले बताए । औजार पाएपछि स्थानीयवासी खुसी छन् । स्थानीयवासी तुलराम बोहोराले औजारबाट तरकारी खेती गर्नका लागि सहज हुने भएको जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७