अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि बाइडेनले दिए यस्तो प्रतिक्रिया


१६ भाद्र २०७८, बुधबार
President elect Joe Biden

काठमाडौं, १६ भदौं । अमेरिकाले १७ दिनमा अफगानिस्तानबाट एक लाख २० हजार भन्दा धेरैको उद्धार गरेको छ । तालिबानले सत्ता कब्जागरेपछि सुरक्षा खतरामा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनीतिज्ञलगायत गरी १७ दिनभित्रमा एक लाख २० हजारभन्दा बढीलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले यो जानकारी दिएका हुन् । तालिबान समूह र अमेरिकाबीच कतारमा भएको सम्झौताअनुरूप अमेरिकाले अगस्त ३१ भित्र नै अफगानिस्तान छोड्ने प्रतिबद्धता जनाएको थियो ।

‘विगत १७ दिनदेखि हाम्रो फौजले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो हवाई उद्धार कार्य सम्पन्न गरेको छ । यो अवधिमा कूल एक लाख २० हजारभन्दा बढी अमेरिकी, हाम्रा सहयोगी राष्ट्रका नागरिक तथा अफगानिस्तान मिसनमा सघाउँदै आएका सहयोगीहरूलाई उद्धार गरिएको छ,’ बाइडेनले भने, ‘अमेरिकी सैनिकले बेजोड साहस, व्यावसायिकता र कटिबद्धताका साथ यो कार्य सम्पन्न गरेका छन् ।’

यो सँगै अब अफगानिस्तानमा २० वर्षे सैन्य उपस्थिति समाप्त भएको घोषणा राष्ट्रपति बाइडेनले गरेका छन् । अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनबारे अमेरिकी जनतालाई थप जानकारी गराइने पनि उनले बताएका छन् ।

‘यो अमेरिकी सैन्य प्रमुख तथा सबै अधिकारी र कार्यस्थलमा रहेका हाम्रा सबै कमान्डरहरूको सर्वसम्मत सिफारिस थियो ताकी योजना अनुसार हाम्रो हवाई उद्धार सेवा अन्त्य भएको छ । सैन्य मिसन अन्त गर्नु हाम्रो फौजको जीवन जोगाउने सर्वोत्तम तरिका थियो भने हाम्रो बहिर्गनसँगै अफगानिस्तान छोड्न चाहनेहरूका लागि सर्वसाधारणको प्रस्थानको सम्भावना सुरक्षित राख्नु हाम्रो कर्तव्य थियो,’ बाइडेनले भनेका छन् ।

अमेरिकी सैनिक परिचालनको २० वर्षपछि सोमबार पेन्टागनले पनि अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने काम पूरा भएको घोषणा गरेको थियो । ‘म अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने र अमेरिकी नागरिक र अफगानीहरूलाई निकाल्ने सैन्य मिसनको अन्त्यको घोषणा गर्दछु,’ अमेरिकी जनरल केनेथ एफ म्याककेन्जीले भने । अन्तिम सी–१७ बिमान मङ्गलबार अमेरिकी समयअनुसार दिउँसो ३ः२९ बजे हमिद कार्जाई विमानस्थलबाट उडेको थियो ।

‘मैले अफगानिस्तान छोड्न चाहने कुनै पनि अमेरिकी, अफगान साझेदार र विदेशी नागरिकहरूका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वयको नेतृत्व गर्न विदेशमन्त्रीसँग आग्रह गरेको छु,’ राष्ट्रपति बाइडेनले भने । अमेरिकी राष्ट्रपतिले तालिबानले आगामी सुरक्षित मार्गबारे प्रतिबद्धताहरू गरेका र विश्वले उनीहरूलाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न सम्झाइरहने पनि बताए ।

‘अफगानिस्तानमा चलिरहेको कूटनीतिक पहल जारी राख्न र त्यहाँका जनतालाई मानवीय सहायता छोड्न वा वितरण गर्न चाहनेहरूका लागि निरन्तर प्रस्थान गर्न अनुमति दिन, विमानस्थल पुनः खोल्न त्यस क्षेत्रका साझेदारहरूसँग समन्वय हुनेछ,’ सम्बोधनमा बाइडेनले भनेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७