प्रचण्डले डल्लु पुगेर भेटे झलनाथ खनाललाई


१६ भाद्र २०७८, बुधबार
Jhalanath Khanal and Prachand

काठमाडौं, १६ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

प्रचण्ड बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्व प्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए । भेटमा प्रचण्डले खनालको पूर्ण स्वास्थ्य लाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिएका छन् । खनालले हालै भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए । उनी यही भदौ १४ गते स्वदेश फर्किएका थिए ।

भेटका क्रममा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ । भारतमा दुई महिना लामो उपचारपछि नेता खनाल गएको सोमबार मात्रै स्वदेश फर्किएका थिए । खनालसँगको भेटपछि प्रचण्ड सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रस्थान गरेका स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७