सभामुखविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा


१६ भाद्र २०७८, बुधबार
agniprasad sapkota 1536x864 1

काठमाडौं, १६ भदौं । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश गरेको छ । सापकोटाविरुद्ध परेको रिटमा बुधवार संवैधानिक इजलासमा सुनुवाई गर्ने गरी पेशी तोकिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको बेन्च गठन भएको थियो । सो इजलासले सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश गरेको छ । अब, अर्को इजलास गठन भएपछि मात्र सापकोटा विरुद्ध परेको रिटमा सुनुवाई हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले रातोपाटीलाई बताए ।

सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । उनीविरुद्ध अर्जुन पत्नी पूर्णिमाया लामाले २०६९ मा र कनकमणि दीक्षितले २०६८ मा दायर गरेको रिटमा सुनुवाई गर्न बुधवार पेशी तोकिएको थियो । यसअघि ३० फागुन २०७६ मा सो मुद्दाको पेशी तोकिएको थियो ।

काभ्रेको दाप्चास्थित श्रीकृष्ण माविबाट २०६२ वैशाखमा लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै पत्नी पूर्णिमायाले दिएको जाहेरी प्रहरीले नलिएपछि उनी सर्वोच्च अदालतमा पुगेकी थिइन् ।

सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सापकोटाविरुद्ध जाहेरी दर्ता भएको थियो । सो जाहेरी महान्यायाधिवक्ताको कार्यालयको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले तामेलीमा राखेको छ । त्यसविरुद्ध पूर्णिमाया र कनकमणि दीक्षितले फेरि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७