अब मोबाइलबाटै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने


१७ भाद्र २०७८, बिहीबार
Trafic 696x423 1

काठमाडौं, १७ भदौं । ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिवाना बापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो ।

महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास समेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्न सक्ने छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले यो नयाँ व्यवस्थाले जरिवाना तिर्न बैंकमै जानुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सवारी नियम उल्लंघन गरेका चालकले अब क्यूआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिए ।

उनले भने, ‘जरिमाना ठाउँको ठाउँ मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ ।’ क्यूआर कोडलाई क्विक रेस्पोन्स कोड भनेर पनि बुझ्न सकिन्छ । यो सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिन्छ । क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता, बैंकको खाता नम्बर भएको प्रविधिले पहिचान गर्न सक्छ ।

पछिल्लो समयमा स्मार्ट फोनमै क्यूआर कोड स्क्यानरको सुविधा उपलब्ध हुन थालेको छ । यसले यो प्रविधिको प्रयोग सजिलो र सुविधाजनक भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७