बन्द गरियो काबुल विमानस्थल, अफगानिस्तानबाट भाग्न चाहनेहरूको विचल्ली


१७ भाद्र २०७८, बिहीबार
Afghanistan
US Afghanistan

काबुल, १७ भदौं । अमेरिकासहित अन्य देशका सैनिक अफगानिस्तानबाट स्वदेश फिर्ता भएसँगै त्यहाँको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

हवाई मार्गबाट देशबाट बाहिरने समयसीमा अन्त्य र तालिबानका आतंककारीको क्रूरताको त्रासले अफगान नागरिक ठूलो संख्यामा टर्की, इरान र पाकिस्तानका सीमातर्फ गइरहेका छन्, कुनै हिसाबले अन्य देशमा गएर ज्यान जोगाउने उद्देश्यले । काबुलको विमानस्थल बन्द भएपछि तालिबानले प्रतिशोध साँध्ने डरले अफगान नागरिक व्यक्तिगत हिसाबले इरान, पाकिस्तान, टर्की र मध्य एसियाली देशका सीमातर्फ गइरहेका हुन् । उनीहरू सीमाबाट सुरक्षित रूपमा अन्य देश प्रवेश गर्ने कोसिस गरिरहेका छन् ।

पाकिस्तानको खैबर नजिक तोरखमा ठूलो संख्यामा मानिस जम्मा भएका छन् । यी मानिस पाकिस्तानतर्फको गेट खुल्ने प्रतीक्षामा छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार इरानसँगको सीमास्थित इस्लाम कला पोस्टमा हजारौं मानिस देश छाड्ने लाइनमा छन् । इरान प्रवेश गर्न सफल एक अफगान नागरिकले इरानी सुरक्षा बलबीच रहँदा पहिलेभन्दा धेरै राहत महसुस भएको बताए ।

उत्तरी अफगानिस्तानसँग जोडिएको उज्बेकिस्तानको जमिनी सीमा अहिले पनि बन्द छ । तर त्यहाँको सरकारले विमान सेवा सुरु हुनासाथ हवाई मार्गबाट अफगान नागरिकलाई जर्मन जान सहयोग गरिने बताएको छ ।

तालिबानले यही गत अगस्ट १५ तारिख अफगानिस्तान आफ्नो कब्जामा लिएपछि अमेरिकाले त्यहाँबाट १ लाख २३ हजार जनालाई बाहिर निकाले, जसमा अमेरिकी सैनिक, नागरिकका साथै अफगान नागरिक पनि छन्, जसले २० वर्षसम्मको युद्धमा अमेरिकालाई मद्दत गरेका थिए ।

तर समयसीमा (डेडलाइन) अगस्ट ३१ तारिखभन्दा २४ घण्टाअघि नै २० वर्षदेखिको युद्ध अन्त्य गर्दै अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगिसकेको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार संगठनले यस वर्षको अन्त्यसम्म ५ लाखभन्दा बढी अफगान नागरिकले देश छाड्ने आकलन गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७