कश्मीरका चर्चित नेता गिलानीको निधन, इन्टरनेट सेवा पनि बन्द


१७ भाद्र २०७८, बिहीबार
Syed Ali Shah Geelani Kashmir

नयाँदिल्ली, १७ भदौं । कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको बुधबार राति निधन भएको छ । ९१ वर्षीय गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए ।

पीडीपीका नेता महबुबा मुफ्तीले सामाजिक सञ्जालमा गिलानीको निधन भएको जानकारी दिएका छन् । गिलानीको निधनसँगै कश्मीरमा केही प्रतिबन्धहरु थपिएको कश्मीरका आईजीपी विजय कुमारले जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । अहिले कश्मीरमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

मुफ्तीले लेखेका छन्, ‘गिलानी साहेबको निधनको खबरले दुःखी छु । हामीबीच धेरै मुद्दामा सहमति थिएन तर तीव्र निर्णय गर्न सक्ने र आफ्नो विश्वासमा टिकिरहन सक्ने क्षमताका लागि उनलाई सम्मान गर्दछु । अल्लाहले उनलाई स्वर्गमा ठाउँ दिउन् । उनको परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

गिलानी कश्मिरमा सक्रिय पृथकतावादी नेता हुन् । २९ सेप्टेम्बर १९२९ मा जन्मिएका उनी हुर्रियत कन्फरेन्सका उदारवादी नेता मानिन्छन् । उनी कश्मीरको सोपोर विधानसभामा तीन पटक विधायकको भूमिकामा निर्वाचित भएका थिए ।

उनी कश्मीरलाई भारतको भाग मान्दैनथे र यसलाई अलग गर्नुपर्ने मागमा अडिग रहँदै आएका थिए । उनले १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत कन्फरेन्स गठन गरेका थिए ।

भारतीय संस्थापनले उनीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो । उनीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो । भारत सरकारले उनको पासपोर्ट पनि खोसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७