घुस मागेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ


१७ भाद्र २०७८, बिहीबार
pakrau
फाइल फोटो

काठमाडौं, १७ भदौं । प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौं’ भनेर घुस माग्ने नेकपा माओवादी केन्द्रका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट घर भएका तिलकबहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन् । उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् । रोल्पा घर भएका दत्त पूर्व विद्यार्थी नेता हुन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरुलाई छुटाउँछौं भनेर उनीहरुले घुस लिएको अनुसन्धानबाट खुलेको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरुले ३ लाख नगद लिएका थिए । डिएसपी, सिडिओ र सरकारी वकिललाई ‘मिलाउनु पर्छ’ भनेर घुस लिएको हिरासतमा रहेकाहरूका आफन्तले सुराक दिएपछि प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुधवार उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७