५० दिनसम्म पनि मन्त्रिपरिषद् अपुरै


१९ भाद्र २०७८, शनिबार
deuwa cabinet 1

काठमाडौं, १९ भदौं । शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झनझन् सकस परिरहेको छ ।

आफ्नै दलभित्र मन्त्रीहरू छान्न सकस हुँदा र सत्तारूढ दलहरूबीच मन्त्रालयको भागबन्डा समेत नटुंगिँदा मन्त्रिपरिषद् विस्तार अझै अन्योलमा छ । आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै मन्त्रालयले नेतृत्व नपाउँदा नियमित बाहेकका अन्य काम प्रभावित बनेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाउँदै आए पनि प्रधानमन्त्री देउवालाई भने मन्त्रिपरिषद् विस्तार गर्न हम्मे परेको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रसहित नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् । मन्त्रालयको भागबन्डा र पार्टीभित्र मन्त्रीहरू छान्ने सकसले मन्त्रिपरिषद् विस्तार नै प्रभावित बन्न पुगेको हो ।

प्रधानमन्त्री देउवा कांग्रेस सभापति समेत हुन् । उनको आफ्नै पार्टी महाधिवेशनमा होमिँदा सदस्यतालगायतका विवादले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन पुगेको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७