ओलीमाथि १० दोष थोपर्दै गौतमको राजीनामा


१९ भाद्र २०७८, शनिबार
Untitled 1 n1fbTWlCQl

काठमाडौं, १९ भदौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित पार्टीका सबै तहबाट राजीनामा दिएको उल्लेख छ ।

उनी माधव नेपालले गठन गरेको नेकपा एसमा जाने भएका छन् । नेकपा एसले जनताको बहुदलीय जनवादलाई मूल कार्यनीति बनाउनुपर्ने अडान राख्दै आएका गौतमले सोही पार्टीमा प्रवेशको तयारी गरेका छन् । गौतमले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले पालना नगरेको आरोप लगाएका छन् ।

‘नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई तपाईं (अध्यक्ष ओली) ले पालना गर्नुभएन। एमाले र माओवादी केन्द्रको साझा घोषणालाई पनि प्रधानमन्त्री भएपछि लागु गर्नुभएन’, गौतमले राजीनामा पत्रमा लेखेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले ओलीले गरेका कामलाई पटक पटक असंवैधानिक भन्दा पनि उनी नसच्चिएको गौतमको विभिन्न १० आरोप छ ।

उनले ओलीमाथि जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीको विचार र मान्यताविपरीत संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेको आरोप पनि लगाएका छन् । ‘जननेता मदन भण्डारीको कम्युनिस्ट पार्टीले जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताविपरीत अध्यक्ष ओली चल्नु भयो’, गौतमको राजीनामा पत्रमा लेखिएको छ ।

कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यता र संविधानविपरीत ओलीले जनताको अत्यधिक बहुमतको जनादेशलाई लत्याउँदै दुई पटक प्रतिनिधिसभा भंग गरेको आरोप गौतमले लगाएका छन् । ‘तपाईंले अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन,’ गौतमको आरोप छ ।

गौतमले ओलीमाथि राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउन खोजेको र सहकर्मीहरूलाई पार्टीबाट निकालेको आरोप समेत लगाएका छन् । ‘पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ, तपार्ईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रुपमा सुझावहरू दिएको थिएँ। तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो,’ गौतमले राजीनामा पत्रमा लेखेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७