कोरोनाका कारण मानसिक रोग : बालबालिकामा देखिन थाल्यो यस्ता समस्या


१९ भाद्र २०७८, शनिबार
children and corona virus child with mask

काठमाडौं, १९ भदौं । दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन् । टोलछिमेकका साथीसँग खेल्न र भेट्न समेत रोक लगाइएको छ । लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ ।

एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याए । आत्महत्याको प्रयास गर्नुअघि ती बालिका इन्स्टाग्राम, टिकटक बढी समय गुजार्ने र सामाजिक सञ्जालमा आफूलाई हेर्न चाहने गर्थिन् । उपचारपछि उनी सामान्य अवस्थामा आइरहेको बाल मानसिक रोग विशेषज्ञ डा. अरूण कुँवरले बताए । यो वर्ष दैनिक १४ देखि २२ जनाले आत्महत्या प्रयास गरेको तथ्यांक छ ।

काठमाडौंकै १२ वर्षीय बालकले घरबाहिर निस्कन नमान्ने, कोरोना सर्छ भन्दै अभिभावकलाई घर बाहिर निस्कन नदिने, घरीघरी हात धुने जस्ता गतिविधि गरेपछि उपचारका लागि उनलाई पनि दुई साताअघि कान्ति बाल अस्पतालमा पुर्‍याइयो ।

उपचारपछि बालक पनि सामान्य हुँदै गइरहेको डा. कुँवरले बताए । गत वर्ष काभे्रका १७ वर्षीय युवकले लकडाउनकै अवधिमा आत्महत्याको प्रयास गरेका थिए । घरबाट कामकै सिलसिलामा सिन्धुली पुगेका उनी लकडाउनमा उतै फसेपछि आफूलाई दिक्क मान्ने गरेको बताएका थिए । लकडाउन लम्बिँदै गएपछि उनले आत्महत्याको प्रयास गरेका थिए । गाउँलेको सहयोगमा उनको उद्धार भएको थियो ।

दोस्रो लकडाउन लामो बनेपछि दोलखाकी एक १७ वर्षीया किशोरीले पढाइ रोकिएको चिन्तामा आत्महत्या गर्ने सोच आएको थियो । उनमा असामान्य गतिविधि बढ्दै गएपछि अविभावकले मनोविद् कञ्चन रावतकहाँ पुर्‍याए । उनले बारम्बार पढाइ रोकिएर भविष्य अन्धकारमा गयो भन्ने चिन्ता मात्र पोख्ने गरेकी थिइन् । मानसिक रोगको उपचारपछि उनी सामान्य अवस्थामा फर्केको रावतले जानकारी दिइन् ।

डा. कुँवरका अनुसार यी दुवै बालबालिका कोभिड–१९र निषेधाज्ञाले घर बाहिर निस्कन नपाउनु, घर बाहिरको खेलकुदमा सहभागी हुन नपाउनु र प्रत्यक्ष अन्तरसंवादबाट वञ्चित भएकाले उनीहरूमा विभिन्न खालका मनोसमस्या बढेको छ । उनीहरूमा डर लाग्ने, डिपे्रसन हुने, पढ्न मन नगर्ने, ग्याजेट बढी चलाउने, निद्रा नलाग्ने र अन्य खालका मनोसमस्या बढिरहेको छ । नेपालमा कोरोना संक्रमण फैलिएपछि बालबालिका तथा युवा उमेर समूहमा समेत मानसिक समस्या बढेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७