कोभिड जस्तै लक्षणको ‘स्क्रब टाइफस’ को संक्रमण बढ्यो, काभ्रेमा चारको मृत्यु


१९ भाद्र २०७८, शनिबार
teku

काभ्रे, १९ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोगको संक्रमण बढ्न थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशका विभिन्न ठाउँमा कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जानकारी दिएका हुन् ।

अधिकारीले यो रोगसँग सचेत रहन समेत अनुरोध गरेका छन् । अधिकारीका अनुसार कोभिड–१९ मा जस्तै स्क्रब टाइफस हुँदा पनि मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने गर्छ । त्यस्तै सास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, शरीरमा कालो दागजस्ता लक्षण देखिने गर्छ ।

गएको १५ दिनमा स्क्रब टाइफसका कारण काभ्रेमा चार जनाको ज्यान गइसकेको जनस्वास्थ्यविद् एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले बताए । कोरोना र स्क्रब टाइफसका बिरामीको लक्षण उस्तै उस्तै हुने भएकाले कतिपयले परीक्षण समेत नगर्ने गरेकाले समस्या निम्तिएको उनको भनाइ छ ।

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । अधिकारीका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीं बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन) को अवस्था पनि सिर्जना हुनसक्ने चिकित्सकहरुको भनाई छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्छ ।

मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीका अनुसार समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे निको हुन्छ । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीररुप लिन सक्ने तर्फ सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ ।

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७