पहिरोले प्रसारण लाइनको टावर ढाल्द गण्डकीका चार जिल्लामा अन्धकार


१९ भाद्र २०७८, शनिबार
bijuli
सांकेतिक तस्वीर

काठमाडौं, १९ भदौं । लगातारको वर्षाका कारण पर्वतमा प्रसारण लाइन टावर ढलेको छ । पर्वतको सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान करिब २ बजे ढालेको हो ।

मोदी–१ जलविद्युत् आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ । यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत गृहहरुको ६८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ । साथै, पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको छ ।

टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत आपूर्तिलाई पुनः सुरु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई खटाएको छ ।

आपत्कालीन रुपमा इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोगमार्फत तत्काल काम थाली विद्युतहरु सञ्चालन र वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति सुरु गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन सुरु गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा ५ दिन लाग्न सक्छ,’ घिसिङले भने ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत् कुश्मा सबस्टेसन हुँदै मोदी–१ जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ । टावर ढलेका कारण अहिले विद्युत् प्रवाह बन्द भएको छ । मोदी सबस्टेसनबाट स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत् पोखरातर्फ प्रवाह गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७