कोरोनासँग मिल्दोजुल्दो के हो स्क्रब टाइफस ?


२० भाद्र २०७८, आईतवार
Scrub Typhus 8q5wI1qA6k

काठमाडौं, २० भदौं । कोरोना भाइरससँग मिल्जोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलेको सिजन स्क्रब टाइफस रोग फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस देखिन थालेको जानकारी दिए ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीं कालो दागजस्ता लक्षण देखिने गर्छन् ।

डा. अधिकारीले मानिसले पछिल्लो समय कोरोनालाई खासै वास्ता नगरेको र लक्षण देखिहालेमा अन्य कामलाई बाधा हुने डरले परीक्षण नगराउने गरेको जानकारी दिए । उनले कोरोना हो भनेर बसेमा स्क्रब टाइफस हुने र त्यसले अन्य अङ्गलाई असर गर्ने हुँदा परीक्षण गर्न सुझाव दिए ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एकप्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग भएको जानकारी दिँदै यसले मस्तिष्क, कलेजो, फोक्सोमा सङ्क्रमण हुने बताए ।

स्क्रब टाइफस रोग समयमै पहिचान भएमा औषधि सेवन गर्दा निको हुने र हेल्चेक्र्याइँ गरेको अवस्थामा मृत्युसम्म गराउन सक्ने चेतावनी दिइएको छ । स्वास्थ्य मन्त्रालयले स्क्रब टाइफस रोगको लक्षण कोरोना भाइरससँंग मिल्दोजुल्दो भएकाले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ ।

स्क्रब टाइफस रोग मुसाका कान वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्छ । सहप्रवक्ता डा. अधिकारीले समयमै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने जानकारी दिए । स्क्रब टाइफसबाट बर्सेनि मानिसको मृत्यु हुने गरेको छ । सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले विशेषतः मुसा बढी भएका ठाउँमा स्क्रब टाइफसको जोखिम बढी हुने जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७